सीआईबीको असई हुँ भनी विश्वास दिलाएर लाखौँ ठगी नक्कली परिचय प्रयोग गरी बैंक खाता र राष्ट्रिय परिचयपत्रसमेत बनाएको खुलासा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

२५ माघ, गौर । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को असई भएको भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारेर लाखौँ रुपैयाँ ठगी गर्दै आएकी एक महिलालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बरहथवा नगरपालिका–६ स्थायी घर भई हाल सर्लाहीको कबिलासी नगरपालिका–१० मा बसोबास गर्दै आएकी करिब ३५ वर्षीया निर्मला महतो रहेकी छन्। उनले आफूलाई नेहा, निशा र पुनम कुमारी नामबाट समेत चिनाउँदै आएको प्रहरीको भनाइ छ।

गाडी, सुनचाँदी र नगदको लोभ देखाएर ठगी

इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रहरी नायब उपरीक्षक रूपा लाबुङका अनुसार महतोले आफू सीआईबीको असई भएको, भन्सार कार्यालयका कर्मचारीसँग राम्रो सम्बन्ध रहेको भन्दै सस्तोमा स्कार्पियो गाडी निकालिदिने प्रलोभन देखाएकी थिइन्।

सोही बहानामा सर्लाही लालबन्दीका राजेश्वर साहबाट पटक–पटक गरी करिब १ लाख ५० हजार रुपैयाँ ठगी गरेको खुलेको छ। पुरुषको नाममा गाडी निकाल्दा कर बढी लाग्ने भन्दै उनले साहकी श्रीमती पुनम कुमारीको सक्कल नागरिकता र फोटोसमेत लिएकी थिइन्।

अर्काको पहिचानमा राष्ट्रिय परिचयपत्र र बैंक खाता

प्रहरी अनुसन्धान अनुसार महतोले पुनम कुमारीकै नाम प्रयोग गरी आफू नै उनी भएको झुटो विवरण दिँदै इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट राष्ट्रिय परिचयपत्र बनाएकी थिइन्। सोही पहिचान प्रयोग गरी माछापुच्छ्रे बैंक, चन्द्रपुर शाखामा खाता खोल्दै चेकमार्फत ठगी कार्यलाई निरन्तरता दिएकी प्रहरीले जनाएको छ।

सुनचाँदी, नगद र गाडी भाडासमेत नतिरेको खुलासा

आफू सीआईबीको असई भएको प्रभाव देखाउँदै महतोले चन्द्रपुर निवासी सन्तोषबहादुर विश्वकर्माको ज्वेलर्स पसलबाट करिब २ लाख ७४ हजार रुपैयाँ बराबरको सुनचाँदी उधारोमा लिएको, गुजरा नगरपालिकाका विजय साह बनियाँसँग ५ लाख रुपैयाँ नगद सापटी लिएको तथा चन्द्रपुरका प्रवीण साहको किराना पसलबाट पनि उधारोमा सामान लिएको खुलेको छ।

यसैगरी स्कार्पियो गाडी भाडामा लिएर १ लाख २६ हजार रुपैयाँ भाडा नतिरेको र खातामा पर्याप्त रकम नहुँदा पनि चेक काटेर पीडितलाई दिएको प्रहरीको भनाइ छ।

ठगी र आपराधिक विश्वासघातमा अनुसन्धान

महतोलाई माघ ४ गते चन्द्रपुर नगरपालिका–६ क्षेत्रबाट पक्राउ गरिएको भए पनि घटनाको विस्तृत अनुसन्धान गर्न करिब २० दिन लागेको प्रहरी नायब उपरीक्षक लाबुङले जानकारी दिइन्।

उनका अनुसार प्रतिवादीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। यस घटनामा थप पीडित हुन सक्ने सम्भावना रहेकाले पीडितहरूलाई आवश्यक परे उजुरी दिन प्रहरी प्रशासनले आग्रह गरेको छ।

Leave a Comment