काठमाडौँ, माघ २८, २०८२ (बुधबार) — राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोगलाई राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौतीका रूपमा व्याख्या गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भ्रष्टाचारलाई सामान्य कानुनी त्रुटि मात्र नभई राज्य र नागरिकबीचको भरोसामाथिको आघात भएको बताएका हुन्।
राष्ट्रपति पौडेलले सार्वजनिक पद र शक्तिको दुरुपयोग हुँदा नागरिकको राज्यप्रतिको विश्वास कमजोर बन्ने उल्लेख गरे। “अख्तियार दुरुपयोग केवल कानुन उल्लङ्घन होइन, यो नागरिकको आस्था र भविष्यका सपनामाथिको प्रहार हो,” उनले भने, “यसले लोकतन्त्रका आधारभूत मूल्यमा नै क्षति पुर्याउँछ।”
उनले अख्तियारले कसैलाई पनि पद र शक्तिको आधारमा कानुनी जवाफदेहिताबाट मुक्त हुन नदिने सन्देश आम नागरिकमा स्थापित गर्न अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने आवश्यकता औँल्याए। आत्मसन्तुष्ट हुने अवस्था नरहेको उल्लेख गर्दै उनले सुशासनका लागि कडाइ अपरिहार्य रहेको बताए।
राष्ट्रपतिले सत्ता, शक्ति र धनको अनावश्यक मोहले प्रक्रिया र प्रणालीको दुरुपयोग बढाउने बताए पनि व्यक्तिगत तथा संस्थागत प्रतिबद्धताले भ्रष्टाचार नियन्त्रण सम्भव हुने विश्वास व्यक्त गरे। “सदाचार, पारदर्शिता, निष्पक्षता र निर्भीकतालाई जीवनशैलीकै रूपमा अंगाल्न सके भ्रष्टाचार निर्मूल गर्न सकिन्छ,” उनले जोड दिए।
लोकतन्त्रको सुदृढीकरण, सामाजिक न्याय र समृद्धिका लागि सुशासन अनिवार्य शर्त भएको उल्लेख गर्दै उनले जनताको अपेक्षाअनुसार विकासका प्रतिफल घरदैलोमा पुर्याउन भ्रष्टाचार नियन्त्रण पहिलो प्राथमिकता हुनुपर्ने बताए।
राष्ट्रपति पौडेलले भ्रष्टाचारविरुद्धको अभियान कुनै एक निकायको मात्र दायित्व नभएको स्पष्ट पार्दै राज्यका सबै अंग, राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजको साझा प्रतिबद्धताबाट मात्र सफलता सम्भव हुने बताए। साथै, भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक इच्छाशक्ति नै पहिलो शर्त भएको उनको भनाइ थियो।






