युवाको असन्तोष सम्बोधन नगरे राष्ट्र अघि बढ्दैन : प्रधानमन्त्री कार्की

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, फागुन ७ (बिहीबार) — अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले युवालाई बेवास्ता गरेर कुनै पनि राष्ट्र स्थिर र शान्त रहन नसक्ने बताएकी छन्।

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले युवामा परिवर्तनको आकांक्षा, ऊर्जा र नैतिक क्रोध रहेको उल्लेख गरिन्। युवाले नातावाद, कृपावाद र भ्रष्टाचार सहन नसक्ने भन्दै उनले युवाको असन्तोष दबाएर होइन, सम्बोधन गरेर मात्र राष्ट्रलाई अघि बढाउन सकिने धारणा राखिन्।

प्रधानमन्त्री कार्कीले प्रजातन्त्रको वास्तविक अनुभूति आम नागरिकको जीवनस्तर, सुरक्षित भविष्य र निस्फिक्री जीवनमा देखिनुपर्ने बताइन्। लोकतन्त्र प्रक्रिया मात्र नभई परिणाममुखी हुनुपर्नेमा जोड दिँदै उनले नागरिकलाई झन्झट, ढिलासुस्ती र हैरानी दिने प्रशासनिक व्यवहार लोकतन्त्रको मूल्यविपरीत हुने उल्लेख गरिन्।

उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वस्थ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति केन्द्रित गरेको जानकारी दिइन्। सो निर्वाचनले मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वतर्फ लैजाने विश्वास व्यक्त गर्दै उनले समयमै निर्वाचन सम्पन्न हुने सुनिश्चितता जनाइन्।

निर्वाचनबाट आउने नयाँ संसद र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने अपेक्षा व्यक्त गर्दै उनले सुशासन, पारदर्शिता, सामाजिक न्याय र जवाफदेहितामा आधारित समृद्धिका लागि सबै राजनीतिक शक्ति एकजुट हुन आह्वान गरिन्।

प्रधानमन्त्री कार्कीले असामान्य राजनीतिक अवस्थापछि गठन भएको सरकारले शान्ति–सुरक्षा सुदृढ गर्दै निर्वाचनको वातावरण निर्माणलाई प्राथमिकतामा राखेको पनि बताइन्।

Leave a Comment