सर्लाही कांग्रेस सभापति सिंहको राजीनामा

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

६ भाद्र,बारा: नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार पार्टी केन्द्रीय कार्यालयलाई पत्र पठाउँदै आफ्नो पदबाट राजीनामा गर्ने निर्णय गरेका हुन्।

सन् २०६६ सालमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको अनुमतिमा पार्टी प्रवेश गरेका सिंहले पार्टीको सदस्यता लिई निरन्तर क्रियाशील रहँदै जिल्ला सभापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए। करिब १५ वर्ष लामो राजनीतिक यात्रामा आफूले पार्टी र संगठनलाई सशक्त बनाउन सक्दो योगदान दिएको सिंहले उल्लेख गरेका छन्।

तर पछिल्लो समय पार्टीभित्र देखिएका असमानता, अन्याय र गुटबन्दीपूर्ण गतिविधि तथा आफ्नै जिल्लामा भएका विवादका कारण आफूले असहज महसुस गर्दै आएको भन्दै उनले राजीनामा दिन बाध्य भएको बताएका छन्। पार्टीभित्र आफ्नो मान-सम्मानलाई अवमूल्यन गरिएको र व्यक्तिगत स्वाभिमानमाथि चोट पुर्याइएको भन्दै सिंहले असन्तुष्टि प्रकट गरेका छन्।

“पार्टीमा देखिएको अन्याय र असमानताका कारण म मानसिक पीडा भोग्न बाध्य भएको छु। यस कारण अब म जिल्लाको सभापति पदमा निरन्तर रहन सक्दिनँ,” उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

सिंहले पार्टी नेतृत्वलाई लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन र अनुशासन कायम राख्न आग्रह गर्दै आफ्नो भविष्यमा पनि सदैव पार्टीको हितमा योगदान रहने प्रतिवद्धता व्यक्त गरेका छन्।

Leave a Comment