लिस्बनस्थित चान्सरी सञ्चालनमा; नेपाली समुदायले शुल्क र प्रक्रियामा सहजता मागे
लिस्बन/काठमाडौं, फागुन ८ — युरोपमा नेपाली श्रमिकको बढ्दो उपस्थितिसँगै मा नेपालको दूतावास चान्सरी औपचारिक रूपमा सञ्चालनमा आएको छ। ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित समारोहमा नेपालका परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगलकी विदेश मामिला तथा सहयोग राज्यमन्त्री डा. आनाइसाबेल जेभियरले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
गत वर्ष वैशाख ३ (१६ अप्रिल २०२५) देखि सेवा दिन थालेको दूतावासले औपचारिक स्वरूप पाएसँगै नेपाल–पोर्चुगल कूटनीतिक तथा आर्थिक सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ। उद्घाटनपछि सचिव राईले दूतावासको उपस्थितिले दुई देशबीचको मित्रता संस्थागत भएको बताए भने राज्यमन्त्री जेभियरले आगामी सहकार्यमा पोर्चुगल सरकारको पूर्ण साथ रहने प्रतिबद्धता जनाइन्।
उद्घाटनपछिको अन्तरक्रियामा करिब ४० हजार नेपालीको प्रतिनिधित्व गर्दै समुदायले दूतावास सेवा शुल्क महँगो र कागजी प्रक्रिया जटिल रहेको गुनासो गरे। ‘सेवा सुरु हुनु सकारात्मक हो, तर शुल्क र प्रक्रियामा सहजता चाहिन्छ,’ सहभागीहरूले बताए। सचिव राईले समस्याबारे मन्त्रालय जानकार रहेको र सुधारका लागि पहल गर्ने आश्वासन दिए।
सन् २०१८ मा गठित नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा सहभागी हुन राई लिस्बन पुगेका हुन्। दूतावासको औपचारिक सञ्चालनसँगै लामो समयदेखि चर्चामा रहेको द्विपक्षीय श्रम सम्झौताका लागि आधार तयार हुने अपेक्षा गरिएको छ। हाल पोर्चुगलमा नेपालीहरू कृषि, सेवा र औद्योगिक क्षेत्रमा कार्यरत छन्।
सोही अवसरमा संविधान दिवस–२०८२ का अवसरमा आयोजित लेख प्रतियोगिताका विजेताहरूलाई पनि सम्मान गरिएको थियो। काठमाडौंका प्रशान्त श्रेष्ठ (प्रथम) र पत्रकार कपिलदेव खनाल (द्वितीय)लाई प्रशंसा–पत्रसहित जनही २०० युरो (करिब ३२ हजार रुपैयाँ) प्रदान गरिएको दूतावासले जनाएको छ। समारोहमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल तथा कूटनीतिक समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

