गौर (रौतहट), ९ फागुन २०८२
रौतहटको क्षेत्रमा स्थानीय समुदायबीच उत्पन्न विवादपछि लगाइएको कर्फ्यु आइतबार पनि यथावत रहने भएको छ। बिहान दुई घण्टा भने अत्यावश्यक कामका लागि खुकुलो पारिने प्रशासनले जनाएको छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी ले शनिबार साँझ कर्फ्यु आदेश जारी गर्दै फागुन १० गते बिहान साढे ६ बजेसम्म कर्फ्यु जारी रहने जानकारी दिए। सोही दिन बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म अत्यावश्यक कामकाजका लागि आवतजावत गर्न दिइनेछ।
उक्त अवधिमा अत्यावश्यक सेवा बाहेक भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न भने पूर्ण प्रतिबन्ध लगाइएको छ। बिहान साढे ८ बजेपछि पुनः कर्फ्यु निरन्तर लागू हुने प्रशासनले जनाएको छ। अर्को आदेश नभएसम्म कर्फ्यु जारी रहने पनि सूचित गरिएको छ।
गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको चार किल्लाभित्र कर्फ्यु लागू गरिएको छ। सो क्षेत्रमा आवतजावत, सभा, जुलुस तथा प्रदर्शनमा पूर्ण रोक लगाइएको छ।
स्थानीय समुदायबीच विवाद बढेपछि शनिबार दिउँसो १ बजेदेखि कर्फ्यु लगाइएको थियो। अवस्था नियन्त्रणमा आए पनि सम्भावित थप हिंसा रोक्न कर्फ्यु यथावत राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कर्फ्यु आदेश उल्लंघन गर्नेलाई कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ। शान्ति तथा सुरक्षा कायम गर्न स्थानीय बासिन्दालाई सहयोग गर्न आग्रह गरिएको छ।

