काठमाडौं : सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो। निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको आरोपमा उनलाई माघ ४ गते पक्राउ गरिएको थियो।
पक्राउविरुद्ध माघ ५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको थियो। सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।
प्रसाईं फागुन २१ मा निर्वाचन हुँदैन भन्दै अभियान चलाइरहेका थिए। यसअघि पनि उनी विभिन्न कसूरमा पटक–पटक पक्राउ पर्दै आएका थिए। केही दिनअघि वीरगञ्ज जान लागेका बेला दक्षिणकालीबाट पक्राउ परेका उनलाई दुई दिन हिरासतमा राखिएको थियो। त्यसपछि माघ २५ गते हाजिरी जमानीमा छुटेका थिए।

