सल्यानमा बोलेरो जिप ९० मिटर तल खस्दा तीन जनाको मृत्यु, तीन घाइते

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

सल्यान, भदौ २७ । सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

शनिबार बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट करिब ९० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी, त्रिवेणी–५ सल्लेका करिब १८ वर्षीया विपना बुढाथोकी र ५० वर्षीय डिल्लीबहादुर वलीको मृत्यु भएको हो।

प्रहरीका अनुसार रेशम र विपनाको घटनास्थलमै मृत्यु भएको थियो। डिल्लीबहादुरको भने उपचारका क्रममा दाङमा मृत्यु भएको हो।दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका–५ सिम्कका २४ वर्षीय भुपाल पुन गम्भीर घाइते भएका छन्। टाउकोमा चोट लागेका पुन बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

त्यस्तै त्रिवेणी–५ का २९ वर्षीय पारस बोहरा र त्रिवेणी–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी पनि घाइते भएका छन्। उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।घाइतेहरूलाई लुहामस्थित त्रिवेणी हेल्थ केयरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

Leave a Comment