निर्वाचन आयोगका कार्यवाहक प्रमुख भण्डारीको अपिल : ‘मतदान लोकतन्त्रको सबैभन्दा ठूलो अनुष्ठान’

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

२१ फागुन, काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताएका छन्। आज सम्पन्न हुँदै गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा अपिल जारी गर्दै उनले यस्तो महत्त्वपूर्ण अनुष्ठानमा सहभागी भई आ–आफ्नो अधिकार सुरक्षित गर्न सम्पूर्ण मतदातालाई आह्वान गरेका हुन्।

भण्डारीले हरेक मतदाताले खसाल्ने एक–एक मतले राजनीतिक व्यवस्थाको स्वरूप, शासन प्रणाली, सरकार, नीति तथा नेतृत्व कस्तो हुने भन्ने निर्धारण गर्ने उल्लेख गर्दै निर्वाचनको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। निर्वाचनमा सहभागी हुनु हरेक सार्वभौम अधिकार सम्पन्न नागरिकको नैसर्गिक अधिकार मात्र नभई कर्तव्य पनि भएको उनले प्रष्ट पारेका छन्।

उनले जारी गरेको अपिलमा गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको विद्रोहपछिको विषम परिस्थितिमा हुन लागेको आकस्मिक प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ ले संविधान र सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ र परिपक्व बनाउने विश्वास व्यक्त गरेका छन्।

निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै उनले मतदाता र मतदान नै निर्वाचनका सर्वाधिक महत्त्वपूर्ण पक्ष भएको बताएका छन्। संविधान र कानुनबमोजिम निश्चित उमेर पूरा गरेका सबै नागरिक मतदाता हुने र सबै मतको मूल्य बराबर हुने भएकाले मतदान मतदाताको नैसर्गिक अधिकार भएको उनको भनाइ छ।

भण्डारीले राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र नागरिक संलग्नताको उच्चतम अभिव्यक्ति नै मतदाता सहभागिता भएको उल्लेख गरेका छन्। नागरिक सचेत र सुसूचित भई मतदानमा सहभागी हुँदा शासनप्रतिको अपनत्व अझ बलियो बन्ने उनले बताएका छन्।

निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले आस्था, विचार र सिद्धान्तका आधारमा स्वतन्त्र वातावरण सुनिश्चित गर्न आयोग दृढ रहेको बताएका छन्। राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज, सञ्चारकर्मी तथा आमसञ्चारमाध्यमलगायत सबै सरोकारवालाको सहयोगप्रति धन्यवाद दिँदै उनले निरन्तर सहकार्यको अपेक्षा पनि गरेका छन्।

प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिलाका रूपमा रहेको निर्वाचनमार्फत नागरिकले आफूले रोजेको प्रतिनिधिबाट शासन सञ्चालन गर्ने अधिकार सुनिश्चित हुने भएकाले बिहीबार आ–आफ्ना मतदान केन्द्रमा उपस्थित भई निर्धक्क रूपमा मतदान गर्न उनले सम्पूर्ण मतदातालाई आह्वान गरेका छन्।

Leave a Comment