महासंघमा नेतृत्व परिवर्तनको तयारी: अन्जन श्रेष्ठ अध्यक्ष बन्दै, वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा तीव्र

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, चैत ३ — निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा नयाँ नेतृत्व चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

महासंघले चैतको अन्तिम साता ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचन गर्ने तयारी गरेको छ। चैत ५ गते बस्ने कार्यकारिणी समिति बैठकले साधारणसभा र निर्वाचनको मिति तय गर्नेछ।

विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन्। २०८१ मंसिरमा भएको विशेष साधारणसभाले विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने व्यवस्था गरेको हो।

यसअघि अध्यक्ष पद प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था रहे पनि खर्चिलो र भड्किलो भएको भन्दै यो प्रणाली परिवर्तन गरिएको थियो। २०७३ सालमा पनि यस्तै प्रावधान लागू गरिएको थियो।

महासंघको कार्यसमितिको कार्यकाल हाल दुई वर्षको छ। यसअघि कार्यकाल तीन वर्षको हुने व्यवस्था थियो।

नयाँ व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्षबाहेक अन्य पदाधिकारी तथा सदस्यहरू साधारणसभाबाट निर्वाचित हुनेछन्। पदाधिकारीमा एक वरिष्ठ उपाध्यक्ष, पाँच उपाध्यक्ष र एक कोषाध्यक्ष रहनेछन्।

तीमध्ये चार उपाध्यक्ष साधारण सदस्यबाट निर्वाचित हुनेछन् भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्ष कार्यकारिणी समितिले चयन गर्ने व्यवस्था छ।

सदस्य संरचनाअनुसार सातै प्रदेशका अध्यक्ष स्वतः सदस्य हुनेछन्। उद्योग वाणिज्य संघबाट १७ जना, प्रदेशगत रूपमा १४ जना, वस्तुगततर्फ १४ जना, एसोसिएट्सतर्फ १७ जना र अन्य विभिन्न समूहबाट सदस्य चयन हुने व्यवस्था गरिएको छ।

वरिष्ठ उपाध्यक्ष पदका लागि प्रतिस्पर्धा भने तीव्र देखिएको छ। यस पदमा चयन हुने व्यक्ति तत्काल अध्यक्ष नबन्ने भए पनि भविष्यको नेतृत्वका लागि महत्वपूर्ण मानिने भएकाले आकांक्षीहरू सक्रिय भएका छन्।

हालसम्म वस्तुगत उपाध्यक्ष हेमराज ढकालले वरिष्ठ उपाध्यक्षमा दाबेदारी घोषणा गरिसकेका छन्। यस्तै जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्य र रामचन्द्र संघाईको नाम पनि चर्चामा छ, यद्यपि उनीहरूले औपचारिक घोषणा गरेका छैनन्।

ढकाल समूहले आफ्नो प्यानलसमेत सार्वजनिक गरिसकेको छ। जसअनुसार ज्योत्सना श्रेष्ठ, उमेश डालमिया, कल्पना गैरे, नरेशलाल श्रेष्ठ र कमला श्रेष्ठलगायत उम्मेदवार रहेका छन्।

यसैगरी अन्य सम्भावित उम्मेदवारका रूपमा शिवकुमार घिमिरे, प्रबलजंग पाण्डेय, कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठको नाम पनि चर्चामा छ।

वरिष्ठ उपाध्यक्षका आकांक्षीहरूले कार्यकारिणी सदस्यमा आफ्ना पक्षका उम्मेदवार जिताउन सक्रिय रूपमा लबिङ र अभियान चलाइरहेका छन्। कार्यकारिणी सदस्यहरूको मतका आधारमा नै वरिष्ठ उपाध्यक्ष चयन हुने भएकाले आन्तरिक प्रतिस्पर्धा अझ तीव्र बनेको छ।

 

Leave a Comment