राजु चौरसिया,कलैया, फागुन ४ — कलैया उपमहानगरपालिकाले गरेको शिक्षक सरुवाको विरोध गर्दै स्थानीय अभिभावकहरूले श्री नेरा आधारभूत छोटकिफुलवरीया विद्यालय मा तालाबन्दी गरेका छन्।
उपमहानगरपालिकाले शिक्षक सरोज कुमार सिंह लाई सरुवा गरी उनको स्थानमा मधु कुमारी सिंह लाई खटाएपछि अभिभावकहरू असन्तुष्ट बनेका हुन्। सरुवाको निर्णयप्रति असहमति जनाउँदै अभिभावकहरूले विद्यालयमा तालाबन्दी गरेका छन्।
विद्यालयका प्रधानाध्यापक नथुनी महतो का अनुसार, “उपमहानगरपालिकाको निर्णयपछि अभिभावकहरूले आपत्ति जनाउँदै विद्यालय बन्द गराएका हुन्। अहिले पठनपाठन प्रभावित भएको छ।”
अभिभावकहरूको भनाइमा सरोज कुमार सिंह लामो समयदेखि उक्त विद्यालयमा अध्यापन गराउँदै आएका र विद्यार्थीहरूको शैक्षिक अवस्था पनि सुधारोन्मुख रहेकाले सरुवा नगर्नुपर्ने माग रहेको छ। उनीहरूले सरुवा निर्णय फिर्ता नभएसम्म तालाबन्दी जारी राख्ने चेतावनी दिएका छन्।
उता, उपमहानगरपालिकाले भने शिक्षक व्यवस्थापन तथा प्रशासनिक आवश्यकताअनुसार सरुवा गरिएको जनाएको स्रोतले बताएको छ।
तालाबन्दीका कारण विद्यालयको दैनिक पठनपाठन प्रभावित भएको छ भने समस्या समाधानका लागि सम्बन्धित पक्षबीच छलफल आवश्यक देखिएको छ।

