४ चैत २०८२, काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्।
ललितपुरको ग्वार्कोस्थित होटलमा सञ्चालन भइरहेको दुईदिने आवासीय कार्यक्रममा पहिलो दिन उपसभापति स्वर्णिम वाग्ले र डोलप्रसाद (डीपी) अर्यालले उद्घाटन गरेका थिए। पहिलो दिनको कार्यक्रममा लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी भएका थिएनन्।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार आज हुने समापन सत्रमा सभापति लामिछाने सहभागी हुने तय भएको छ। उनले वरिष्ठ नेता बालेन शाह पनि सहभागी हुन सक्ने जानकारी दिएका छन्, तर उनको सहभागिताबारे औपचारिक पुष्टि भने गरिएको छैन।
यसअघि उपसभापति अर्यालले पनि सम्भव भएसम्म दुवै नेता समापन कार्यक्रममा उपस्थित हुने बताएका थिए। यद्यपि पार्टीले सार्वजनिक गरेको कार्यक्रम तालिकामा भने आजको सत्रमा लामिछानेको मात्र सहभागिता स्पष्ट गरिएको छ।
रास्वपाले आफ्ना सांसदलाई संसदीय अभ्यास, आचरण र जिम्मेवारीबारे जानकारी दिन अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो।






