जसपा नेपाल–लोसपा पुनः एकतामा, मधेश राजनीतिमा नयाँ मोड

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

१४ पुस, जनकपुरधाम ।
मधेश केन्द्रित दुई प्रमुख राजनीतिक दल—जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल—बीच पुनः एकता गर्ने ऐतिहासिक निर्णय भएको छ। आइतबार काठमाडौंमा बसेको दुवै पार्टीका शीर्ष नेतृत्वसहितको संयुक्त बैठकले औपचारिक रूपमा एकीकरणको सहमति गरेको हो।

एकीकरणसम्बन्धी सहमति पत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेका छन्। बैठकमा दुवै दलका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

विज्ञप्तिमा वर्तमान राजनीतिक अवस्थाको गम्भीर मूल्यांकन र विश्लेषणपछि एकताको निर्णय लिइएको उल्लेख छ। संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय र मधेशका मुद्दालाई अझ सशक्त रूपमा अघि बढाउन एकीकरण आवश्यक ठानिएको बताइएको छ।

नेतृत्वले मधेशका जनताको अधिकार, समान सहभागिता र न्यायपूर्ण समाज निर्माणका लागि छुट्टाछुट्टै हैन, एकीकृत शक्तिका रूपमा अघि बढ्ने निष्कर्षमा पुगेको जनाएको छ।

यसअघि १० वैशाख २०७७ मा तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जसपा बनेको थियो। तर एकीकरणको डेढ वर्ष नपुग्दै २०७८ भदौमा पार्टी विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोसपा गठन भएको थियो।

झण्डै दुई दशकदेखि मधेश राजनीतिमा सँगै र अलग–अलग यात्रा गर्दै आएका उपेन्द्र यादव र महन्थ ठाकुरको यो पुनर्मिलनलाई मधेश राजनीतिको नयाँ अध्यायका रूपमा हेरिएको छ। आगामी चुनाव र राष्ट्रिय राजनीतिमा यस एकताले ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Leave a Comment