चैत ४, २०८२, खोटाङ-खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेँसीमा एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा ६ जना सवारमध्ये एक जना घाइते भएका छन्।
काठमाडौँबाट पाँच यात्रु लिएर दिउँसो १२ बजेर २ मिनेटमा पुगेको नाइन एन–एएफक्यू नम्बरको हेलिकप्टर अवतरणका क्रममा भित्तामा ठोक्किएपछि दुर्घटना भएको हो।
दुर्घटनामा ललितपुरका ६५ वर्षीय काजीबहादुर राई घाइते भएका छन्। उनको खुट्टा र आँखामा चोट लागेको प्रहरीले जनाएको छ। चालक सविन थापासहित अन्य यात्रु भने सकुशल रहेका छन्।
घाइते र चालकलाई अर्को हेलिकप्टरमार्फत तत्काल उपचारका लागि काठमाडौं पठाइएको थियो। स्थानीयका अनुसार घाइते काजीबहादुरलाई हेलिकप्टरले थिचिरहेको अवस्थामा उद्धार गरिएको थियो।
हेलिकप्टरमा एक महिनाअघि बेलायतमा निधन भएकी ७७ वर्षीया मनलक्ष्मी राईका आफन्तहरू अन्त्येष्टिका लागि आएका थिए। मृतकका श्रीमान्, छोरा, छोरी र अन्य आफन्त सवार थिए।
दुर्घटनापछि चालकले तत्काल इञ्जिन बन्द गरेकाले ठूलो क्षति हुनबाट जोगिएको सवार बालकुमार राईले बताएका छन्। उनका अनुसार इञ्जिन बन्द नगरेको भए स्थिति गम्भीर हुन सक्थ्यो।
एयर डाइनेष्टी कम्पनीले घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको जनाएको छ। प्राविधिक समस्या वा अन्य कारण के थियो भन्ने अझै खुलाइएको छैन।
दुर्घटनामा हेलिकप्टरको पङ्खा र पुच्छरमा क्षति पुगेको छ। अवतरणपछि हेलिकप्टर सार्ने क्रममा पछाडिको भाग पल्टिँदा दुर्घटना भएको जनाइएको छ।
घटनाबारे अनुसन्धान गर्न काठमाडौंबाट आएको प्राविधिक टोलीले स्थल निरीक्षण गरेर फर्किएको स्थानीयले बताएका छन्।

