काठमाडौं, चैत ८ — नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रतिनिधिसभा निर्वाचनमा पार्टी पराजयको नैतिक जिम्मेवारी लिँदै दिएको राजीनामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकले अस्वीकार गरेको छ ।
शुक्रबार र आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सभापति थापाको राजीनामा अस्वीकार गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो । उक्त प्रस्ताव उपसभापति विश्वप्रकाश शर्माले बैठकमा पेश गरेका थिए ।
पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै विधानको धारा २६ (१) बमोजिम राजीनामा दिएका थिए । तर केन्द्रीय कार्यसमितिको बैठकले उक्त राजीनामा अस्वीकार गर्ने निर्णय गरेको हो ।
कांग्रेसले सभापतिको राजीनामा अस्वीकार गर्नुका पछाडि विभिन्न आधारहरू प्रस्तुत गरेको छ । प्रवक्ता चालिसेले जारी गरेको विज्ञप्तिअनुसार ८ वटा मुख्य कारणका आधारमा राजीनामा अस्वीकार गरिएको हो ।
बैठकले निर्वाचन पराजयका कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको निष्कर्ष निकालेको छ । साथै वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको ठहर गरिएको छ ।
त्यस्तै, राजीनामा स्वीकार गर्दा पार्टीभित्र अस्थिरता, अन्योल र कार्यकर्ताको मनोबलमा गिरावट आउन सक्ने भएकाले पनि अस्वीकार गरिएको जनाइएको छ । राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएको बैठकको निष्कर्ष छ ।
सामूहिक जिम्मेवारीको सिद्धान्त, पार्टी नेतृत्वको स्थायित्वको आवश्यकता तथा सुधार कार्यक्रम ‘कांग्रेस २.०’ को निरन्तरताका लागि पनि राजीनामा अस्वीकार गरिएको हो ।
यस्तै, पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता र केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णयलाई पनि आधारका रूपमा उल्लेख गरिएको छ ।

