पत्रकारमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ बारा शाखाको गम्भीर ध्यानाकर्षण

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१७ पुस,कलैया – पत्रकार चन्द्रेश्वर प्रसाद चौरसियामाथि समाचार संकलनका क्रममा भएको कुटपिट तथा आक्रमणप्रति नेपाल पत्रकार महासंघ, बारा शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ। महासंघले घटनाको घोर निन्दा गर्दै दोषीमाथि तत्काल कडा कारबाही गर्न माग गरेको छ।

महासंघका अनुसार देवताल गाउँपालिका वडा नं. २ मा सार्वजनिक जग्गा अतिक्रमण गरिएको भन्ने सूचनाका आधारमा समाचार संकलन गर्न पुगेका पत्रकार चौरसियामाथि आक्रमण गरिएको हो। उक्त घटनामा पत्रकार चौरसियाको आँखासहित शरीरका विभिन्न भागमा चोट लागेको र उनको साथमा रहेको महँगो क्यामेरा समेत क्षतिग्रस्त भएको जनाइएको छ।

प्रेस विज्ञप्तिमार्फत महासंघले स्वतन्त्र र निष्पक्ष पत्रकारितामाथि गरिएको आक्रमण लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो चुनौती भएको उल्लेख गरेको छ। महासंघले घटनामा संलग्न समूह तथा व्यक्तिहरूको पहिचान गरी तत्काल पक्राउ गर्दै कडा कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेको छ।

साथै, पत्रकारको पेशागत सुरक्षाको सुनिश्चितता गर्न र यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायलाई गम्भीर हुन महासंघले आग्रह गरेको छ।

Leave a Comment