काठमाडौं, ११ चैत । बजेट निर्माणको समय सुरु भइसके पनि सिंहदरबार अहिले असामान्य रूपमा सुनसान देखिएको छ । मन्त्रीहरूको अभावका कारण मन्त्रालयहरूमा अपेक्षित चहलपहल देखिएको छैन ।
हरेक वर्ष यही समयमा बजेट माग र विभिन्न कामका लागि जनप्रतिनिधि, नेता तथा सेवाग्राहीको भीड लाग्ने गर्दछ । तर यसपटक मन्त्रालयहरूमा त्यस्तो गतिविधि देखिँदैन । अधिकांश काम कर्मचारी तहबाटै भइरहेको छ भने नीतिगत निर्णयहरू भने प्रभावित बनेका छन् ।
निर्वाचनअघि मन्त्रीहरू उम्मेदवार बनेपछि धेरै मन्त्रालय नेतृत्वविहीन भएका छन् । केही मन्त्रीले एकभन्दा बढी मन्त्रालय सम्हाल्दा प्रभावकारी काम हुन सकेको छैन ।
मन्त्री नभएकै कारण सेवाग्राहीहरू पनि कामका लागि पर्खाइमा बस्न बाध्य भएका छन् । कतिपय सेवाग्राही नयाँ मन्त्री नआउँदासम्म काम नहुने भन्दै काठमाडौंमै बस्नुपरेको गुनासो गर्छन् ।
कर्मचारीहरूका अनुसार बजेट तयारीको यो संवेदनशील समयमा राजनीतिक नेतृत्व नहुँदा काममा गति आउन सकेको छैन । विगतमा यही बेला मन्त्रालय परिसर, क्यान्टिन र सचिवालयहरूमा बाक्लो भीड हुने गरे पनि अहिले सुनसानजस्तै अवस्था छ ।
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भइसकेको र सांसदहरूको शपथ कार्यक्रम नजिकिँदै गर्दा अब नयाँ सरकार गठनपछि मात्र सिंहदरबारमा पुरानै चहलपहल फर्किने अपेक्षा गरिएको छ ।

