काठमाडौं, भदौ २५ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहसमक्ष आफ्नो राजीनामा बुझाएकी हुन्। उनको सचिवालयका अनुसार उनले प्रधानमन्त्रीसमक्ष राजीनामा पत्र बुझाएकी छन्।
पछिल्लो समय खाना पकाउने ग्यासको चरम अभाव भएपछि आपूर्ति मन्त्रालय र मन्त्री यादवको कार्यशैलीमाथि चर्को आलोचना हुँदै आएको थियो। ग्यासको सहज आपूर्ति हुन नसक्दा उपभोक्ता लामो समयदेखि समस्यामा परेका थिए।
यसैबीच बुधबार संसदीय समितिको बैठकमा मन्त्री यादवले ग्यासको अभाव समाधान गर्न उद्योगीमाथि कडाइ गर्नुपर्ने धारणा राखेकी थिइन्। उनले ग्यास उद्योगीलाई कडाइ नगरेसम्म बजारमा देखिएको अभाव अन्त्य गर्न कठिन हुने बताएकी थिइन्।
यादवले सञ्चालनमा रहेका सबै ग्यास उद्योगको अनुमतिपत्रसमेत खारेज गर्नुपर्ने धारणा बैठकमा राखेकी थिइन्। उनले आफूलाई कर्मचारी तथा ग्यास उद्योगीबाट अपेक्षित सहयोग नपाएको गुनासोसमेत गरेकी थिइन्।
ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला मन्त्री यादवको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

