यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

 १३ चैत २०८२, शुक्रबार- काठमाडौं-नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, जेनजी आन्दोलनको दमबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायत ४ वटा निर्णय भएको छ। आजै प्रधानमन्त्री नियुक्त भएका बालेन शाहले पहिलो मन्त्रिपरिषद् बैठक राखेका थिए।

उक्त बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयसमेत गरेको प्रवक्ता पोखरेलले बताए।

बैठकका निर्णयहरू यस प्रकार छन्:

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्ने।

नेपाल सरकारको प्रवक्तामा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने।

सरकारको शासकीय सुधारका सय कार्यसूची स्वीकृत गर्ने। (भोलिसम्म प्रकाशित गरिने)

भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्ने।

पहिलो, उक्त आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेश गरेको सिफारिस बमोजिम कार्यान्वयन गर्ने।

दोस्रो, अन्यको हकमा सो आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्ने।

Leave a Comment