काठमाडौं, चैत १८ — चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वीर अस्पतालले चिकित्सक तथा कर्मचारीको उपस्थिती र अनुशासनमा कडाइ गर्ने निर्णय गरेको छ। अस्पतालले १४ बुँदे निर्देशन जारी गर्दै कार्यालय समयमा अन्यत्र काम नगर्न र बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म अनिवार्य रूपमा अस्पतालमै बस्न निर्देशन दिएको हो।
निर्देशनअनुसार कार्यालय समयमा ढिलो आउने वा बिना जानकारी अनुपस्थित हुने कर्मचारीलाई सम्बन्धित निकायसम्म रिपोर्ट गरिने र नियमअनुसार कारबाही गरिने जनाइएको छ। बिहान ९:३० बजेपछि आउने र बेलुका ४:३० बजाअघि निस्कनेलाई ‘गयल’ मान्दै आधा दिनको बिदा काटिने व्यवस्था गरिएको छ।
अस्पतालले सेवाप्रवाह सुधार गर्न समयपालनमा विशेष जोड दिएको छ। साथै सेवाग्राहीसँग ‘मुस्कानसहितको सेवा’ दिनुपर्ने व्यवस्था लागू गरिएको छ। रुखो व्यवहार गर्ने वा कार्यशैली नसुधार्ने कर्मचारीलाई कारबाही गरिने चेतावनी दिइएको छ।
चिकित्सकहरूले बिरामीका पुर्जा, डिस्चार्ज समरी र रिपोर्टमा आफ्नो नाम, नेपाल मेडिकल काउन्सिल (एनएमसी) नम्बर र हस्ताक्षर स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। अस्पताल परिसरभित्र एप्रोन र परिचयपत्र अनिवार्य गरिएको छ।
अस्पतालले कर्मचारीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सतर्कता केन्द्रको निगरानीमा रहने जनाउँदै कार्यक्षेत्रमा नभेटिएमा सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार हुने जनाएको छ।

