काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी तथा विपद प्रभावित क्षेत्रमा निरन्तर उद्धार, खोज तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मीहरूको योगदानको प्रशंसा गरेका छन्।
सामाजिक सञ्जालमार्फत आइतबार सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले संकटको समयमा सुरक्षाकर्मीले देखाएको त्याग, निष्ठा र साहसका कारण ठूलो संख्यामा नागरिकले सुरक्षित महसुस गर्न सकेको बताएका छन्। उनले कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन्।
प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीको संयुक्त प्रयासबाट हालसम्म १३ हजार ३९१ जनाको उद्धार गरिएको जानकारी दिएका छन्। घाइतेलाई तत्काल अस्पताल पुर्याउनेदेखि शव व्यवस्थापन, सम्भावित महामारी तथा संक्रामक रोग नियन्त्रण र प्रभावितलाई शिविरमा मनोबल बढाउने काममा सुरक्षाकर्मी निरन्तर सक्रिय रहेको उनले उल्लेख गरेका छन्।
बाढीका कारण ४५ सैनिक, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी गरी ८२ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन रहेको प्रधानमन्त्री शाहले बताएका छन्। कठिन परिस्थितिका बाबजुद उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीप्रति उनले सम्मान व्यक्त गरेका छन्।
नेपाली सेनाले बाढीपछि नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा उपरथीको नेतृत्वमा ‘फरवार्ड हेडक्वार्टर’, ‘इमर्जेन्सी मेडिकल रेस्क्यु टिम’ तथा मुख्य ‘फरवार्ड एयर बेस’ स्थापना गरी उद्धार गरिरहेको छ। रसुवाको धुन्चे ब्यारेकमा सहायक रथीको नेतृत्वमा ‘ट्याक्टिकल हेडक्वार्टर’, चिकित्सकसहितको ‘फरवार्ड मेडिकल टिम’ र अतिरिक्त ‘एयर बेस’ सञ्चालनमा छन्।
विद्युत् आयोजनाका सुरुङ क्षेत्रमा समेत खोज तथा उद्धार कार्यको नेतृत्व सेनाले गरिरहेको छ। यस अभियानमा सशस्त्र प्रहरीको विशेष खोज तथा उद्धार टोली र नेपाल प्रहरीको ‘डग टिम’ परिचालन गरिएको छ।
बाढीले क्षति पुर्याएका सडक तथा पुल सञ्चालनमा ल्याउन पनि सेनाले काम अघि बढाएको छ। नुवाकोटको देवीघाटमा सेनाका इन्जिनियरहरूले एक्रो ब्रिज जडान गरिरहेका छन् भने विभिन्न स्थानमा बेलीब्रिज निर्माण र सडक खुलाउने काम भइरहेको छ। हाल प्रभावित क्षेत्रमा ९ हजार २८७ सैनिक परिचालन गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।
नेपाल प्रहरीले पनि सुरुदेखि नै खोज, उद्धार, राहत वितरण तथा शान्तिसुरक्षा कायम गर्ने कार्यमा अग्रपङ्क्तिमा रहेर काम गरिरहेको छ।
तालिमप्राप्त कुकुरको सहयोगमा खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ। प्रभावित क्षेत्रमा ७ हजार ९७५ नेपाल प्रहरी र ४ हजार २०३ सशस्त्र प्रहरी परिचालन गरिएको जनाइएको छ।
सशस्त्र प्रहरीले जोखिमपूर्ण भूगोल तथा उर्लंदो भोटेकोशी–त्रिशूली नदीको अवस्थाबीच विशेष तालिमप्राप्त गोताखोर, डोरी टोलीलगायतका उद्धार जनशक्ति परिचालन गरेको छ। प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य पोष्ट, फिल्ड कमाण्ड पोष्ट तथा १३ वटा विपद् प्रतिकार्य बेस स्थापना गरी ड्रोन स्क्वाडमार्फत खोजी भइरहेको छ। सशस्त्र प्रहरीले प्रभावित नागरिकलाई उपचार सेवासमेत उपलब्ध गराइरहेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले विपद्को समयमा सुरक्षाकर्मीलाई साथ दिने उनीहरूका परिवारप्रति समेत आभार व्यक्त गरेका छन्। साथै, नेपाल तथा विदेशबाट उद्धार तथा विपद् व्यवस्थापनमा सहयोग गरिरहेका विज्ञहरूलाई पनि उनले धन्यवाद दिएका छन्।

