काठमाडौं, २० चैत २०८२ । वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा पछिल्लो एक महिनामा ३५२ जनाविरुद्ध उजुरी परेको छ।
वैदेशिक रोजगार विभागको अनुसन्धान तथा मुद्दा शाखामा ती उजुरी दर्ता भएका हुन्। विभागले शुक्रबार उजुरी परेका व्यक्तिहरूको नामसमेत सार्वजनिक गरेको जनाएको छ।
गत फागुन १७ गतेदेखि चैत १७ गतेसम्म परेको उजुरीका आधारमा सूची तयार गरिएको विभागले जनाएको छ। सार्वजनिक गरिएका उजुरीमाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
वैदेशिक रोजगारीको प्रलोभन देखाएर रकम असुल्ने तथा झुटा आश्वासन दिने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूविरुद्ध उजुरी परेको हो।
विभागले यस्ता ठगीका घटनाबाट सचेत रहन र आधिकारिक माध्यमबाट मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ।

