बुटवल, चैत २४ – रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर लागुऔषध तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव तथा भारत महाराजगञ्ज पर्सामलिक ग्राम बिसुनपुरुवाका अरुण कुमार (१८) र विनय पाण्डेय (२०) रहेका छन्।
लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोली खटिएको थियो। सो टोलीले रोहिणी गाउँपालिका–४ कोटहवामा चेकजाँचका क्रममा यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्न खोज्दा तीनै जना भाग्ने प्रयास गरेका थिए।
भाग्ने क्रममा उनीहरु लडेका थिए भने नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ढुंगासमेत प्रहार गरेका थिए। ढुंगा लागेर प्रहरी घाइते भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायरसहित दुई राउण्ड गोली प्रहार गरेको थियो।
गोली प्रहारपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी तथा सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिएका छन्।
पक्राउ परेकाहरुले प्रयोग गरेको मोटरसाइकल जाँच गर्दा फेनरागन, डाइजेपाम र ब्रुफिनका ११००/११०० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ।
गोली लागेर घाइते भएका विशाल यादवको बायाँ खुट्टाको पिडुलामा चोट लागेको छ र उनको भीम अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






