टाइमको १०० प्रभावशाली सूचीमा प्रधानमन्त्री बालेन, विश्व नेतामाझ १४औँ स्थान

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, वैशाख ३ — अन्तर्राष्ट्रिय प्रतिष्ठित म्यागेजिन टाइम ले सार्वजनिक गरेको सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा नेपालका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह परेका छन्।
हरेक वर्ष सार्वजनिक गरिने यस सूचीमा बालेन प्रभावशाली नेताहरूको समूहभित्र १४औँ स्थानमा रहेका छन्। विश्व राजनीति र नेतृत्वका चर्चित व्यक्तित्वहरूबीच उनको स्थानले अन्तर्राष्ट्रिय ध्यान खिचेको छ।
यस समूहमा पहिलो स्थानमा पोप लियो छन् भने मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबउम दोस्रो स्थानमा छिन्। अमेरिकी विदेशमन्त्री मार्को रूबिओ तेस्रो तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चौथो स्थानमा रहेका छन्।
टाइमले बालेन शाहलाई हिप–हप कलाकारबाट राजनीतिमा उदाएका नयाँ पुस्ताका नेतृत्वका रूपमा चित्रण गरेको छ। युवा असन्तुष्टि र परम्परागत राजनीतिक संरचनाविरुद्धको भावनाले उनलाई सत्तामा पुर्‍याएको विश्लेषण पत्रिकाले गरेको छ।
उनको उदयलाई ‘युवा विद्रोह’ को रूपमा उल्लेख गर्दै टाइमले यसले स्थापित राजनीतिक संरचनामाथि प्रभाव पारेको जनाएको छ। काठमाडौं महानगरपालिकाका मेयरका रूपमा कार्यरत रहँदा उनले फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न प्रशासनिक जटिलता तोड्ने प्रयास गरेको भन्दै प्रशंसा पनि गरिएको छ।
यद्यपि स्थानीय तहमा देखिएको सफलतालाई राष्ट्रिय स्तरमा निरन्तरता दिन सक्ने–नसक्ने विषयमा भने चुनौती अझै कायम रहेको टिप्पणी टाइमले गरेको छ।
टाइमको विश्लेषणमा बालेन शाहको सांगीतिक पृष्ठभूमि पनि समेटिएको छ। अमेरिकी र्‍याप कलाकार टुपाक शकुर र फिफ्टी सेन्टका प्रशंसक रहेका उनले विगतमा सामाजिक सञ्जालमार्फत परम्परागत राजनीतिज्ञप्रति आलोचनात्मक अभिव्यक्ति दिएको उल्लेख गरिएको छ।
‘अब नेपाली जनताले उनले आफ्नै अभिव्यक्तिलाई व्यवहारमा कसरी रूपान्तरण गर्छन् भन्ने हेर्ने अपेक्षा राखेका छन्,’ टाइमले टिप्पणी गरेको छ।

Leave a Comment