हुलाक सेवा आधुनिकीकरण : घरघरमै पुग्न थाले पासपोर्ट, लाइसेन्स र शैक्षिक प्रमाणपत्र

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ : सरकारी सेवा नागरिकको घरदैलोमै पुर्‍याउने लक्ष्यसहित सुरु गरिएको हुलाक प्रणाली विस्तार हुँदै गएको छ। अहिले १९ जिल्लामा लागू गरिएको यो सेवामार्फत राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र शैक्षिक प्रमाणपत्र घरमै पुग्न थालेका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पहलमा अघि बढाइएको कार्यक्रममा हुलाक सेवा विभागले विभिन्न निकायसँग समन्वय गर्दै सेवा प्रभावकारी बनाउँदै लगेको छ। विभागका अनुसार हालसम्म ३ हजार १३१ राहदानी सम्बन्धित जिल्लामा पठाइएको छ, जसमध्ये ६६७ राहदानी सेवाग्राहीकै घरमा पुर्‍याइसकिएको छ।
यो व्यवस्थाले राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता घटाउँदै सेवा प्रवाहलाई सहज बनाएको छ। काठमाडौँ, झापा, कास्की, मोरङ, गुल्मी, डडेलधुरा, सिन्धुपाल्चोकलगायत १९ जिल्लामा सेवा सञ्चालनमा छ भने अन्य जिल्लामा पनि विस्तारको तयारी भइरहेको छ।
हुलाकमार्फत शैक्षिक सेवा पनि जोडिएको छ। हालसम्म २६० शैक्षिक प्रमाणपत्र वितरण भइसकेका छन्। त्यस्तै, स्वास्थ्य क्षेत्रमा प्रयोगशाला नमुना ढुवानी सेवा सुरु गरिएको छ, जसअन्तर्गत विभिन्न जिल्लाबाट नमुना ओसारपसार भइरहेको छ।
यातायाततर्फ पनि सेवा उल्लेखनीय रूपमा विस्तार भएको छ। विभागका अनुसार करिब २ लाख ९६ हजारभन्दा बढी सवारी चालक अनुमतिपत्र सम्बन्धित कार्यालयहरूमा पठाइसकिएको छ भने केही जिल्लाबाट घरमै लाइसेन्स पुर्‍याउने कामसमेत सुरु भएको छ।
सरकारले हुलाक सेवालाई आधुनिक बनाउँदै ‘सरकारी कुरियर सेवा’ का रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखेको छ। यसका लागि विभिन्न निकायबीच प्रणाली एकीकरण, ट्र्याकिङ प्रणाली सुधार तथा पोस्टल कोड स्तरोन्नति जस्ता कामहरू अघि बढाइएका छन्।
सरकारी सेवा प्रवाहलाई डिजिटल र सहज बनाउने अभियानअन्तर्गत हुलाकको यो नयाँ अभ्यासलाई सेवाग्राहीले सकारात्मक रूपमा लिन थालेका छन्।

Leave a Comment