काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ को अध्यक्षमा अन्जन श्रेष्ठ चयन भएका छन्। महासंघको विधानअनुसार यसअघि वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ स्वतः अध्यक्ष बनेका हुन्।
महासंघको ६०औँ वार्षिक साधारणसभापछि सुरु भएको निर्वाचन प्रक्रियाको मतगणना सम्पन्न भएसँगै नयाँ नेतृत्वको टुंगो लागेको हो। निर्वाचनमार्फत विभिन्न समूहबाट उपाध्यक्षसहित कार्यसमिति चयन गरिएको छ।
मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेल का अनुसार जिल्ला तथा नगरतर्फका उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन्। त्यस्तै वस्तुगत संघतर्फ नरेशलाल श्रेष्ठ र एसोसिएटतर्फ प्रबलजङ्ग पाण्डे विजयी भएका छन्।
महासंघमा लामो समयदेखि लागू हुँदै आएको ‘वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने’ व्यवस्था भने अब अन्त्य गरिएको छ। यस प्रावधानअनुसार श्रेष्ठ अन्तिम पटक स्वतः अध्यक्ष बनेका हुन् भने आगामी महाधिवेशनदेखि अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन हुने जनाइएको छ।
नवनिर्वाचित नेतृत्वले निजी क्षेत्रको सुदृढीकरण, आर्थिक सुधार र व्यवसायमैत्री वातावरण निर्माणमा जोड दिने अपेक्षा गरिएको छ।
उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व: अध्यक्षमा अन्जन श्रेष्ठ, स्वतः उत्तराधिकारी व्यवस्था अन्त्य
Leave a Comment
Leave a Comment



