सिंहदरबारमा संवैधानिक परिषद् बैठक, प्रधानन्यायाधीश चयन प्रक्रिया अघि

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आज सिंहदरबारमा सुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने मुख्य एजेन्डामाथि छलफल भइरहेको छ। परिषद्मा सहमति जुटेमा आजै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने सम्भावना छ भने सहमति नजुटेमा निर्णय आगामी बैठकका लागि सारिनेछ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद्मा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेता, उपसभामुख तथा सम्बन्धित मन्त्री सहभागी रहने व्यवस्था छ। प्रधानन्यायाधीश सिफारिससम्बन्धी बैठकमा भने कानुनमन्त्रीसमेत सहभागी हुन्छन्।
आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसहित सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुनमन्त्री सोविता गौतम, प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङदेम्बे र उपसभामुख रुवी कुमारी ठाकुर सहभागी छन्।
गत चैत १८ गते उमेरहदका कारण पूर्व प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अवकाश पाएपछि उक्त पद रिक्त रहेको छ।
नयाँ प्रधानन्यायाधीशका लागि कायममुकाय प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम चर्चामा रहेको छ।

Leave a Comment