काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने चालकविरुद्ध निगरानी र कारबाही तीव्र बनाएको छ । पछिल्ला दिनमा भीआईपी सवारीदेखि प्रहरीकै गाडीसमेत ट्राफिक नियम उल्लंघनमा कारबाहीमा पर्न थालेपछि ट्राफिक जाँच थप कडा भएको देखिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार गत १३ चैतदेखि १६ वैशाख २०८३ सम्मको अवधिमा ८६ हजार ७०२ चालकलाई विभिन्न ट्राफिक कसुरमा कारबाही गरिएको छ । यो अवधिमा ६ करोड ३९ लाख २८ हजार ५८५ रुपैयाँ राजश्व संकलन भएको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले अहिले दिनको समयमा समेत मादक पदार्थ सेवन (मापसे) परीक्षण गर्न थालेको छ । साथै लागुपदार्थ सेवन गरेर सवारी चलाउने, लेन मिच्ने, रातो बत्ती उल्लंघन गर्ने तथा तीव्र गतिमा गाडी चलाउनेमाथि विशेष निगरानी बढाइएको छ ।
कार्यालयका एसएसपी नवराज अधिकारी का अनुसार मापसे गर्ने ४ हजार ४५२ चालक कारबाहीमा परेका छन् । त्यसैगरी लेन अनुशासन उल्लंघन गर्ने ७ हजार ७५८, रातो बत्ती काट्ने ७ हजार ७२४ र तीव्र गतिमा सवारी चलाउने २ हजार ७२७ चालकलाई पनि कारबाही गरिएको छ ।
त्यस्तै, अनधिकृत रूपमा राइड शेयर सञ्चालन गर्ने ५ हजार ८४८, लाइसेन्स बिना सवारी चलाउने २ हजार ५५८ तथा अनावश्यक हर्न बजाउने २ हजार ४६५ चालकलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार स्वरूप परिवर्तन गरेर सवारी चलाउने, प्रदूषण मापदण्ड उल्लंघन गर्ने, मोड्न निषेध गरिएको स्थानमा मोड्ने र यान्त्रिक अवस्था कमजोर भएका सवारी चलाउने चालकहरूमाथि पनि निगरानी बढाइएको छ ।
उपत्यकामा ट्राफिक निगरानी कडा, डेढ महिनामै ८६ हजारभन्दा बढी चालक कारबाहीमा
Leave a Comment
Leave a Comment






