उपत्यकामा सवारी दुर्घटना बढ्दो, ९ महिनामा १७४ जनाको ज्यान गयो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं उपत्यकामा पछिल्लो नौ महिनामा भएका सवारी दुर्घटनामा १७४ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमध्ये आधाभन्दा बढी युवा उमेर समूहका रहेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदी का अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म उपत्यकामा ४ हजार ६३१ सवारी दुर्घटना भएका छन् ।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये ९३ जना युवा रहेका छन् । तीमध्ये १७ वर्षमुनिका ७ जना तथा १६ देखि ३५ वर्ष उमेर समूहका ८६ जनाले ज्यान गुमाएका छन् । ३६ वर्षभन्दा माथिका मृतकको संख्या ८१ रहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमध्ये १३८ पुरुष र ३३ महिला रहेका छन् । साथै एक बालक र दुई बालिकाले पनि दुर्घटनामा ज्यान गुमाएको तथ्यांकमा उल्लेख छ ।
दुर्घटनाका कारण १८६ जना गम्भीर घाइते भएका छन् भने ४ हजार ९२७ जनाले सामान्य चोटपटक भोगेका छन् ।
ट्राफिक प्रहरीका अनुसार अत्यधिक गति, मादक पदार्थ वा लागूपदार्थ सेवनपछि सवारी चलाउने प्रवृत्ति दुर्घटनाको मुख्य कारण बनेको छ । गाडी चलाउँदा मोबाइल फोन प्रयोग गर्ने बानीले समेत दुर्घटना बढाएको प्रहरीको निष्कर्ष छ ।

Leave a Comment