नुवाकोट — नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको शव खोलामा लुकाइएको अवस्थामा फेला परेपछि प्रहरीले हत्या घटनाको अनुसन्धान तीव्र बनाएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका ३६ वर्षीय भाइ सूर्यमान तामाङ मृत अवस्थामा भेटिएका हुन्। प्रहरीका अनुसार उनीहरूको शव किम्ताङ खोलामा ढुंगाले थिचेर लुकाइएको अवस्थामा फेला परेको हो।
प्रहरी नायब उपरीक्षक बिक्रम लामाले एक व्यक्तिले फोनमार्फत आफूले हत्या गरेको दाबी गर्दै घटनास्थलबारे जानकारी दिएपछि प्रहरी टोली खोजीमा गएको बताए। प्राप्त सूचनाका आधारमा खोजतलास गर्दा खोलाभित्र शव फेला परेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा आर्थिक कारोबारको विवादका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। फोन गर्ने व्यक्तिले गोली प्रहार गरेर हत्या गरेको दाबी गरे पनि घटनास्थलबाट भने एकथान खुकुरी बरामद भएको प्रहरीले जनाएको छ।
परिवारका सदस्यका अनुसार दुवै दाजुभाइ मंगलबार बिहान कुलो निर्माणका लागि घरबाट निस्किएका थिए। त्यसपछि उनीहरू सम्पर्कविहीन बनेका थिए।
घटनास्थल सडक सञ्जालबाट करिब पाँच घण्टाको पैदल दूरीमा पर्ने भएकाले उद्धार तथा अनुसन्धानमा कठिनाइ भएको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि मृतकहरूको शव त्रिशूली अस्पताल ल्याउने तयारी भइरहेको छ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले फोन गर्ने व्यक्तिको खोजी तीव्र पारेको छ।
नुवाकोटमा दाजुभाइ मृत फेला, हत्या आशंकामा अनुसन्धान तीव्र किम्ताङ खोलामा ढुंगाले थिचिएको अवस्थामा भेटियो शव
Leave a Comment
Leave a Comment







