काठमाडौं, असोज २ । निर्वाचन आयोगले आगामी फागुनको अन्तिम साताभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारी अघि बढाएको छ।
आयोगका आयुक्त राजीव सुब्बाका अनुसार कानुनी व्यवस्थाअनुसार स्थानीय तहका वर्तमान जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन गरिसक्नुपर्ने भएकाले आयोगले त्यसैअनुसार आवश्यक प्रक्रिया अघि बढाइरहेको छ।
उनले निर्वाचनका लागि अहिले मतदाता नामावली अद्यावधिक गर्ने काम भइरहेको जानकारी दिए। आयोगले वर्षमा दुईपटक मतदाता नामावली अद्यावधिक गर्ने व्यवस्था रहेकाले फागुनमा निर्वाचन हुने अवस्था बनेमा माघमा पुनः अद्यावधिक गरेर अन्तिम मतदाता नामावली सार्वजनिक गरिने उनले बताए।
आयुक्त सुब्बाले निर्वाचनका लागि आयोगतर्फबाट गर्नुपर्ने अधिकांश तयारी अघि बढिरहेको र सरकारसँग आवश्यक समन्वय गर्न बाँकी रहेको बताएका छन्।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा गाउँसभा वा नगरसभाका सदस्यको निर्वाचन सम्बन्धित गाउँसभा वा नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि गर्नुपर्ने व्यवस्था छ।
नेपालमा पछिल्लो स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा सम्पन्न भएको थियो। संविधानअनुसार स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाल पाँच वर्षको हुने भएकाले आगामी निर्वाचनको समयसीमा निर्धारण गर्दा यही संवैधानिक र कानुनी व्यवस्थालाई आधार बनाइएको आयोगले जनाएको छ।

