लालीगुराँस नगरपालिका ले बाँदरका कारण कृषिमा बढ्दो क्षति भएपछि सामूहिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गर्न सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाले जेठ १ गते सबै कार्यालय बन्द गरी जनप्रतिनिधि, कर्मचारी, कृषक र सर्वसाधारणलाई बाँदर नियन्त्रण अभियानमा सहभागी हुन आह्वान गरेको हो । किसानले लगाएको अन्नबाली, तरकारी तथा फलफूलमा बाँदरले लगातार क्षति पुर्याउन थालेपछि यस्तो कदम चालिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख अर्जुन माबोहाङ द्वारा जारी सूचनामा बाँदर समस्याले किसानको दैनिकी, आर्थिक अवस्था र बालबालिकाको शिक्षासमेत प्रभावित भएको उल्लेख गरिएको छ । खेतबारी जोगाउन किसान रातदिन पहरा बस्न बाध्य भएको नगरपालिकाको भनाइ छ ।
नगरपालिकाले जेठ १ र २ गते विभिन्न वडामा सामूहिक रूपमा बाँदर लखेट्ने कार्यक्रम तय गरेको छ । साथै, बाँदर नियन्त्रणका लागि अस्थायी संरचना निर्माण, रुँगालो परिचालन तथा वन क्षेत्रमा बाँदरलाई आकर्षित गर्ने फलफूलका बिरुवा रोप्ने योजना पनि अघि बढाइएको जनाएको छ ।
नगर प्रमुख माबोहाङले बाँदर समस्या अब स्थानीय तहको मात्र नभई राष्ट्रिय चुनौतीका रूपमा देखिन थालेको भन्दै केन्द्र सरकारले दीर्घकालीन समाधानका कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।
बाँदर आतंक नियन्त्रण गर्न लालीगुराँस नगरपालिकाले दियो सार्वजनिक बिदा
Leave a Comment
Leave a Comment







