पार्टी मिलाउन खोज्दा केही साथीले बिथोल्न खोजे : गगन थापा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र देखिएको विवाद समाधान गर्न आफू निरन्तर सक्रिय रहे पनि केही नेताहरूले एकता बिथोल्न खोजिरहेको बताएका छन्।
प्रजातान्त्रिक विचार समाज नेपालको साधारणसभामा आइतबार बोल्दै थापाले १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरूलाई पुनः जिम्मेवारी दिन आफू तयार रहेको बताए। उनले सबै नेतासँग सहकार्य गरेर अघि बढ्न चाहेको र पार्टीभित्र कसैलाई विभेद नगरी समान अवसर दिनुपर्ने धारणा राखे।
सदस्यता अद्यावधिक अभियानलाई लिएर पार्टीभित्रै विरोध भइरहेकोप्रति असन्तुष्टि जनाउँदै थापाले केही नेताले कार्यकर्तालाई नवीकरण नगर्न उक्साइरहेको आरोप लगाए। उनले देशभरका कांग्रेस सदस्यलाई फोन, मेसेन्जर, कम्प्युटर वा वडा कार्यालयमार्फत सदस्यता नवीकरण गर्न आग्रह गरिएको उल्लेख गरे।
‘अद्यावधिक नगर्न आह्वान गर्ने लहर चलेको छ। अद्यावधिक नगर्ने भनेको के भनेको ?’ भन्दै थापाले पार्टी एकताका लागि सबै नेताले सकारात्मक भूमिका खेल्नुपर्ने बताए।
उनले कांग्रेसले गुमाएको करिब १० लाख शुभेच्छुक र समर्थकको मत पुनः फर्काउने गरी एकजुट भएर काम गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

Leave a Comment