काठमाडौं, जेठ २० — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले प्रधानमन्त्री र राष्ट्रपतिमाथि एकैसाथ निशाना साध्दै वर्तमान सत्ता गठबन्धनले संविधान र लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर बनाउने काम गरिरहेको आरोप लगाएका छन्।
एमालेद्वारा आयोजित ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिलाई राष्ट्रिय हितविपरीत रहेको दाबी गरे। नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने अभिव्यक्ति झुट र तथ्यहीन भएको उनको भनाइ थियो।
‘संसद् जस्तो सर्वोच्च थलोबाट देशको हितविपरीत सन्देश जाने गरी अभिव्यक्ति दिनु उचित होइन,’ ओलीले भने। उनले प्रधानमन्त्रीको व्यवहार अपरिपक्व देखिएको टिप्पणी गर्दै त्यसको उद्देश्यबारे समेत प्रश्न उठाए।
अर्कोतर्फ ओलीले राष्ट्रपति रामचन्द्र पौडेल को भूमिकामाथि पनि प्रश्न उठाए। संविधानको रक्षकका रूपमा राष्ट्रपतिले स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने भए पनि व्यवहारमा सरकारका निर्णयहरूलाई सहजै अनुमोदन गर्ने प्रवृत्ति देखिएको उनको आरोप थियो।
ओलीले वर्तमान राजनीतिक घटनाक्रमलाई लोकतान्त्रिक संस्थामाथिको क्रमिक हस्तक्षेपको रूपमा चित्रण गर्दै मुलुकलाई गलत दिशातर्फ धकेल्ने प्रयास भइरहेको दाबी गरे। उनले एमालेले संविधान, लोकतन्त्र, राष्ट्रिय स्वाभिमान र जनअधिकारको पक्षमा निरन्तर संघर्ष गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
एमाले अध्यक्ष ओलीको यो अभिव्यक्ति सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच बढ्दो राजनीतिक टकरावका बीच आएको हो, जसले आगामी दिनमा राजनीतिक बहसलाई थप तीव्र बनाउने अनुमान गरिएको छ।
प्रधानमन्त्री र राष्ट्रपतिमाथि ओलीको तीव्र आलोचना, ‘संविधान र लोकतन्त्रमाथि प्रहार भइरहेको छ’
Leave a Comment
Leave a Comment






