मिटरब्याज पीडित–सरकारबीच आजै लिखित सम्झौता हुने तयारी, सिंहदरबारमा अन्तिम चरणको वार्ता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, साउन १ — लामो समयदेखि आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच आज औपचारिक लिखित सम्झौता हुने तयारी गरिएको छ। यसका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुवै पक्षबीच अन्तिम चरणको निर्णायक वार्ता जारी रहेको छ।
यसअघि सिमरामा भएको वार्तामा दुवै पक्षबीच विभिन्न विषयमा मौखिक सहमति जुटेको थियो। सोही सहमतिलाई कानुनी तथा प्रशासनिक रूपमा कार्यान्वयन गर्ने उद्देश्यले आज लिखित सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको हो।
हिजो पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी टोली र पीडित पक्षबीच लामो छलफल भएको थियो। त्यस क्रममा अधिकांश विषयमा सहमति नजिक पुगेपछि आज औपचारिक सम्झौताको वातावरण बनेको बताइएको छ।
सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको वार्ता टोली सहभागी छ। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्रप्रसाद दुलाल सदस्य रहेका छन्।
पीडित पक्षको वार्ता टोलीको संयोजन अवधेश कुसवाहले गरेका छन्। टोलीमा मनोज पासवान, रिजन रानामगर, लक्ष्मी घिमिरे, किरण परियार र निर्गराज जैसी सदस्यका रूपमा सहभागी छन्।
आजको वार्ताबाट दुवै पक्षबीच औपचारिक सम्झौतामा हस्ताक्षर भए आन्दोलनको महत्वपूर्ण चरण टुंगिने अपेक्षा गरिएको छ। साथै, सम्झौतापछि मिटरब्याज पीडितका माग कार्यान्वयनका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाउने विश्वास गरिएको छ।

Leave a Comment