काठमाडौं, असार ५ — मध्यपूर्वमा लामो समयदेखि जारी तनाव कम गर्ने उद्देश्यले अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानमाथि लागू गरेको सामुद्रिक नाकाबन्दी हटाएको घोषणा गरेको छ।
अमेरिकी सेन्ट्रल कमाण्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार नाकाबन्दी अन्त्य गरिएको पुष्टि गर्दै क्षेत्रीय सुरक्षालाई ध्यानमा राखेर केही अमेरिकी नौसैनिक जहाज भने यथावत् तैनाथ रहने जनाएको छ।
सम्झौतापछि इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले पहिलोपटक सार्वजनिक धारणा राख्दै यसलाई इरानी जनताको हितसँग जोडिएको निर्णय बताएका छन्। उनले आफ्ना पिता आयतोल्लाह अली खामेनीको निधनपछि नेतृत्व सम्हालेका हुन्। खामेनीले इरानको सार्वभौमिकता र राष्ट्रिय अधिकार सुरक्षित रहने सुनिश्चिततापछि मात्रै सम्झौता स्वीकार गरिएको दाबी गरेका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै इरान र इजरायलसँग सम्बन्धित विभिन्न मोर्चामा पूर्ण युद्धविरामको वातावरण बन्ने अपेक्षा व्यक्त गरेका छन्। उनले सम्झौताले क्षेत्रीय स्थायित्व र सुरक्षा मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
सम्झौताका प्रमुख बुँदामध्ये विश्व व्यापारका लागि महत्वपूर्ण मानिने हर्मुज जलसन्धि पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउने, इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता जनाउने तथा इरानको आर्थिक पुनर्निर्माणका लागि ३०० अर्ब अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय कोष स्थापना गर्ने विषय समावेश छन्।
औपचारिक हस्ताक्षर समारोह स्विजरल्याण्डमा हुने भनिए पनि अन्ततः दुवै पक्षले भर्चुअल माध्यमबाट सम्झौतामा हस्ताक्षर गरेका छन्। आगामी ६० दिनभित्र सम्झौताका प्राविधिक पक्ष टुंग्याउने लक्ष्य राखिएको छ।
यद्यपि, अमेरिकाभित्र र इजरायलमा सम्झौताप्रति मिश्रित प्रतिक्रिया देखिएको छ। केही अमेरिकी तथा इजरायली नेताहरूले सम्झौताले इरानमाथिको दबाब कमजोर बनाएको आरोप लगाएका छन्। अर्कोतर्फ अमेरिकी प्रशासनले भने इरानले प्रतिबद्धता पूरा नगरेसम्म सबै प्रतिबन्ध तत्काल नहटाइने स्पष्ट पारेको छ।
मध्यपूर्वको जटिल भू-राजनीतिक अवस्थाबीच भएको यो सहमतिलाई क्षेत्रीय शान्ति स्थापना र कूटनीतिक सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
अमेरिका–इरान सम्झौतापछि सामुद्रिक नाकाबन्दी अन्त्य, मध्यपूर्वमा शान्तिको नयाँ संकेत
Leave a Comment
Leave a Comment






