युद्धको आगोबीच रोकियो गोलाबारी, इजरायल–हिजबुल्लाहबीच युद्धविराम सहमति

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । इजरायल र हिजबुल्लाहबीच बढ्दो सैन्य तनाव रोक्न युद्धविरामको सहमति भएको अमेरिकी अधिकारीहरूले बताएका छन्। दक्षिणी लेबनानमा भएको भीषण आक्रमण र प्रतिआक्रमणपछि दुई पक्षबीच युद्धविरामको बाटो खुलेको हो।
पछिल्लो भिडन्तमा इजरायली हवाई आक्रमणबाट दक्षिणी लेबनानमा ४७ जनाको मृत्यु भएको थियो भने हिजबुल्लाहले पनि इजरायलतर्फ आक्रमण गरेको थियो। लगातारको संघर्षले क्षेत्रीय युद्ध थप फैलिने चिन्ता बढेको थियो।
इजरायली सेनाले युद्धविराम लागू भएको जनाएको छ। तर, उसले तत्काल देखिने सुरक्षा जोखिम नियन्त्रण गर्न आफ्ना गतिविधि जारी रहने बताएको छ। यता हिजबुल्लाहले भने अहिलेसम्म औपचारिक रूपमा युद्धविराम पुष्टि गरेको छैन।
हिजबुल्लाहका महासचिव शेख नइम कासिमले इजरायलले हिजबुल्लाहलाई कमजोर बनाउने योजना असफल भएको दाबी गरेका छन्। तर, लेबनानका नागरिक भने विगतका अनुभवका कारण युद्धविराम टिक्नेमा अझै विश्वस्त देखिएका छैनन्।
अमेरिकी पहलमा भएको समझदारीपछि अब स्थायी शान्तिका लागि थप वार्ता गर्ने तयारी भइरहेको छ। आगामी दिनमा लेबनान र इजरायलबीच प्रत्यक्ष छलफल हुने बताइएको छ।
तर, युद्धविराम घोषणा भए पनि दुवै पक्षबीच अविश्वास कायमै रहेको छ। पछिल्लो घटनाक्रमले मध्यपूर्वको संकट समाधान अझै चुनौतीपूर्ण रहेको संकेत गरेको छ।

Leave a Comment