चितवन । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्तालाई आफ्नो नेतृत्वप्रति आलोचनात्मक बन्न आग्रह गरेका छन्। उनले कुनै पनि दलमा नेताप्रतिको अन्धविश्वासले लोकतन्त्र कमजोर बनाउने भन्दै प्रश्न गर्ने संस्कार विकास गर्नुपर्ने बताएका छन्।
चितवनमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै थापाले नयाँ राजनीतिक शक्ति भएकाले रास्वपाले सुशासनको एजेन्डालाई व्यवहारमा उतार्न नेतृत्वमाथि निगरानी र प्रश्न आवश्यक रहेको बताए।
“आफ्नो नेतालाई भगवान् बनाएर गल्ती नगरौँ। गल्ती भएको बेला आफ्नै नेतृत्वलाई प्रश्न गर्ने साहस गर्नुस्,” थापाले भने।
उनले पुराना दलहरूले गरेका कमजोरीबाट सिक्दै अघि बढ्नुपर्ने बताए। आफू आबद्ध दलभित्र पनि सुधारको आवश्यकता महसुस भएको उल्लेख गर्दै थापाले बाहिरको विकृतिविरुद्ध लड्नुभन्दा आफ्नै संगठनभित्र परिवर्तन ल्याउन कठिन हुने अनुभव सुनाए।
थापाले विगतमा सत्ता, गठबन्धन र भागबण्डाको राजनीतिले अपेक्षित परिणाम दिन नसकेको स्वीकार गरे। उनले राजनीतिक दलहरूले आफ्ना कमजोरी पहिचान गरेर सुधारको बाटो रोज्नुपर्ने बताए।
रास्वपालाई नयाँ राजनीतिक शक्तिका रूपमा स्वागत गर्दै उनले लोकतान्त्रिक आन्दोलनका उपलब्धि र इतिहासलाई नबिर्सन आग्रह गरे। नयाँ राजनीति निर्माण गर्दा विगतका संघर्ष, बलिदान र योगदानको सम्मान गर्नुपर्ने उनको भनाइ थियो।
उनले लोकतन्त्र स्थापना र नागरिक अधिकारका लागि धेरै पुस्ताले संघर्ष गरेको स्मरण गर्दै इतिहासलाई अस्वीकार गरेर मात्र नयाँ यात्रा सफल नहुने बताए।
थापाको सम्बोधनले रास्वपा महाधिवेशनमा नेतृत्वप्रति जवाफदेहिता, आन्तरिक लोकतन्त्र र राजनीतिक संस्कारको विषयलाई प्रमुख रूपमा उठाएको छ।
रास्वपा महाधिवेशनमा गगन थापाको सन्देश : ‘नेतृत्वलाई प्रश्न गर्ने हिम्मत राख्नुस्’
Leave a Comment
Leave a Comment






