क्यानडाको टम्बलर रिजस्थित विद्यालयमा गोलीकाण्ड, ९ को मृत्यु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, माघ २८, २०८२ (बुधबार) — क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको टम्बलर रिज सहरस्थित एक माध्यमिक विद्यालयमा भएको गोलीकाण्डमा कम्तीमा ९ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घटनामा २५ जना घाइते भएका छन्।

स्थानीय समयअनुसार मध्यराति १:२० बजे विद्यालय परिसरमा गोली चलेको सूचना प्राप्त भएपछि रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा केही व्यक्ति घाइते तथा मृत अवस्थामा फेला परेका थिए।

प्रहरीका अनुसार आक्रमणमा संलग्न ठानिएका एक व्यक्ति पनि मृत अवस्थामा भेटिएका छन्। घटनापछि विद्यालय क्षेत्र सिल गरिएको छ भने विद्यार्थी र कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएको जनाइएको छ।

ब्रिटिस कोलम्बियाका स्थानीय विधायक ल्यारी न्युफेल्डले स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी र एम्बुलेन्स परिचालन गरिएको जानकारी दिएका छन्। उनले आफन्तको खोजीमा बाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

घटना भएको टम्बलर रिज माध्यमिक विद्यालयमा कक्षा ७ देखि १२ सम्मका करिब १७५ विद्यार्थी अध्ययनरत रहेको सरकारी तथ्यांकमा उल्लेख छ। मृतकहरूमा विद्यार्थी छन् वा छैनन् भन्नेबारे आधिकारिक पुष्टि भइसकेको छैन।

आरसीएमपीका उत्तरी जिल्ला कमान्डर केन फ्लोयडले अवस्था गम्भीर रहेको बताउँदै घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्। प्रहरीले स्थानीय समुदाय, विद्यालय प्रशासन र आपत्कालीन सेवासँग समन्वय गरी परिस्थितिलाई नियन्त्रणमा लिएको जनाएको छ।

Leave a Comment