भेनेजुएला भूकम्पमा मृतक संख्या १८८ पुग्यो, भग्नावशेषमा आफन्त खोज्दै परिवार

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं — भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ। भूकम्पमा १ हजार ५०० भन्दा बढी घाइते भएको अधिकारीहरूले जनाएका छन् भने अझै धेरै मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ।
लगातार दुई ठूला भूकम्पका कारण देशभर ठूलो क्षति पुगेको छ। स्थानीय समयअनुसार बुधबार साँझ गएको ७.२ र ७.५ म्याग्निच्युडका भूकम्पले राजधानी काराकाससहित विभिन्न क्षेत्रमा असर पारेको हो।
भूकम्पपछि सरकारले देशभर संकटकाल घोषणा गर्दै खोज तथा उद्धार अभियान तीव्र बनाएको छ। तर उद्धार कार्य ढिलो भएपछि कतिपय पीडित आफैं भग्नावशेष हटाउँदै आफन्तको खोजीमा जुटेका छन्।
आफन्त हराएका परिवारहरूले फोटोसहितका सूचना टाँस्न थालेका छन्। धेरै परिवार आफ्ना प्रियजनको खोजीमा सडकमा भौतारिरहेका छन्।
सबैभन्दा बढी प्रभावित क्षेत्र राजधानी काराकासको उत्तरमा रहेको ला ग्वाइरा क्षेत्र बनेको छ। त्यहाँको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा समेत क्षति पुगेपछि उद्धार र राहत वितरणमा समस्या भएको छ।
भूकम्पका कारण विद्युत्, खानेपानी, सञ्चार र यातायात सेवा प्रभावित भएका छन्। विद्यालयहरू केही दिनका लागि बन्द गरिएको छ भने केही भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गरिने जनाइएको छ।
भेनेजुएलालाई सहयोग गर्न विभिन्न देशले उद्धार टोली र राहत सामग्री पठाउने घोषणा गरेका छन्। अमेरिका, मेक्सिको, ब्राजिल, कतार, स्पेन, पोर्चुगल र क्यानडालगायत देशले सहयोगको प्रतिबद्धता जनाएका छन्।
यसैबीच राहत तथा उद्धार कार्य सहज बनाउन अमेरिकाले भेनेजुएलामाथि लगाएका केही आर्थिक प्रतिबन्ध अस्थायी रूपमा खुकुलो बनाएको छ।
अधिकारीहरूले खोज तथा उद्धार कार्य अझै जारी रहेको र भग्नावशेषमा रहेका मानिसहरूको खोजीलाई प्राथमिकता दिइएको बताएका छन्।

Leave a Comment