मालवाहक जहाजमाथि ड्रोन आक्रमणपछि अमेरिकाको जवाफी कारबाही, इरानसँग तनाव बढ्यो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं । युद्धविराम सम्झौता भएको केही दिनमै अमेरिका र इरानबीच पुनः तनाव बढेको छ। इरानले हर्मुज जलमार्ग नजिकै एउटा व्यावसायिक मालवाहक जहाजमाथि ड्रोन आक्रमण गरेपछि अमेरिकी सेनाले जवाफी हमला गरेको जनाएको छ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार अमेरिकी लडाकु विमानहरूले हर्मुज क्षेत्र आसपास रहेका इरानी मिसाइल तथा ड्रोन भण्डारण केन्द्र र तटीय राडार प्रणालीलाई लक्षित गरी आक्रमण गरेका हुन्।
शुक्रबार भएको ड्रोन आक्रमणबाट जहाजको दायाँ भाग र कमान्ड पुलमा क्षति पुगे पनि कुनै मानवीय क्षति नभएको बताइएको छ। अमेरिकाले आक्रमणमा प्रयोग भएका केही इरानी ड्रोनसमेत खसालेको दाबी गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै यस्तो कदमको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। उनले इरानले गोली चलाउनु नहुने भन्दै कडा प्रतिक्रिया दिएका छन्।
अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले पनि इरानलाई चेतावनी दिँदै सम्झौता पालना गर्न आग्रह गरेका छन्। उनले समस्या भए वार्ताबाट समाधान गर्नुपर्ने तर हिंसाको जवाफ हिंसाबाट दिइने बताएका छन्।
यता इरानले भने अमेरिकी आरोप अस्वीकार गर्दै अमेरिकाले नै सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ। इरानी पक्षले अमेरिकी सेनाले बहाना बनाएर आफ्नो तटीय क्षेत्रमा हमला गरेको दाबी गरेको छ।
हर्मुज जलमार्ग विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एक हो। यस क्षेत्रमा बढेको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा समेत असर पर्ने चिन्ता बढेको छ। अमेरिका र इरानबीच गत जुन १७ मा १४ बुँदे समझदारी भएपछि युद्ध रोक्ने र व्यापारिक जहाजलाई सुरक्षित मार्ग दिने सहमति भएको थियो। तर हर्मुज हुँदै जाने जहाजबाट शुल्क लिने विषयमा दुवै पक्षबीच विवाद कायमै छ।

Leave a Comment