बारा, असार १७ — बाराको महागढीमाई नगरपालिका–९ पिप्राविर्तामा बुधबार साँझ परेको चट्याङले एक १२ वर्षीया बालिकाको ज्यान गएको छ भने एक महिला घाइते भएकी छन्।
स्थानीय स्रोतका अनुसार साँझ करिब ६ बजे छिटफुट वर्षासँगै परेको चट्याङले कपिलदेव दास र निर्मला देवी दासकी १२ वर्षीया छोरी सञ्जना कुमारी दासको घटनास्थलमै मृत्यु भएको हो। उनी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिप्राविर्तामा कक्षा ५ मा अध्ययनरत थिइन्।
कालो बादलसँगै सामान्य वर्षा भइरहेका बेला सरेहमा रहेको सिसौको रुखमा चट्याङ खसेको थियो। चट्याङको तीव्र प्रभावका कारण रुख दुई चिरा परेको स्थानीयले बताएका छन्। रुख नजिकै खेतमा रहेकी सञ्जनाको शरीर र अनुहारमा गम्भीर चोट तथा डढेको घाउ लागेकाले उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
उक्त घटनामा सञ्जनासँगै खेतमा रहेकी स्थानीय भन्टु दासकी श्रीमती पनि घाइते भएकी छन्। उनको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ।
मृतक सञ्जनाका बुबा कपिलदेव दास विगत तीन वर्षदेखि वैदेशिक रोजगारीका लागि साउदी अरेबियामा रहेका छन्। छोरीको असामयिक निधनपछि परिवार तथा गाउँ नै शोकमा डुबेको छ।
वर्षायाममा चट्याङ, बाढी, डुबानलगायत प्राकृतिक विपद्का घटना बढ्ने भएकाले मौसम प्रतिकूल भएका बेला खुला स्थान, अग्ला रुखमुनि तथा जोखिमयुक्त क्षेत्रमा नबस्न सम्बन्धित निकायले सर्वसाधारणलाई आग्रह गरेका छन्। साथै, विपद्को जोखिम न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
Leave a Comment
Leave a Comment






