काठमाडौं, असार २७ — स्पेनले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै १६ वर्षपछि सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको लस एन्जलसमा सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले अन्तिम क्षणमा निर्णायक गोल गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।
खेलको ३०औँ मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए। तर ४१औँ मिनेटमा चाल्र्स डे केटेलारेले उत्कृष्ट हेडरमार्फत बेल्जियमका लागि बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो।
दोस्रो हाफभरि आक्रामक खेल प्रस्तुत गरेको स्पेनले लगातार दबाब सिर्जना गरिरह्यो। खेल सकिन दुई मिनेट मात्र बाँकी रहँदा पाउ क्युबार्सीको प्रहार बेल्जियमका गोलकिपरले पूर्ण रूपमा नियन्त्रणमा लिन नसक्दा रिबाउन्ड बलमा मिकेल मेरिनोले सहज गोल गर्दै स्पेनलाई २–१ को जित दिलाए।
खेलभर स्पेनले बल नियन्त्रणमा स्पष्ट प्रभुत्व जमाएको थियो। स्पेनले १६ पटक गोलतर्फ प्रहार गर्दा बेल्जियमले केवल ५ वटा प्रयास मात्र गर्न सक्यो।
सन् २०१० मा विश्वकपको उपाधि जितेको स्पेन त्यसयता अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको थिएन। २०१४ मा समूह चरणबाट बाहिरिएको स्पेन २०१८ र २०२२ संस्करणमा अन्तिम १६ मै सीमित भएको थियो। यसपटक भने उत्कृष्ट पुनरागमन गर्दै टोलीले १६ वर्षपछि पुनः सेमिफाइनल यात्रा तय गरेको छ।
स्पेनका लागि यो विश्वकप इतिहासको तेस्रो सेमिफाइनल यात्रा हो। यसअघि टोली १९५० र २०१० मा अन्तिम चारमा पुगेको थियो, जसमा २०१० मा विश्वविजेता बनेको थियो।
यता, बेल्जियमको विश्वकप यात्रा भने क्वार्टरफाइनलमै समाप्त भएको छ। २०१८ मा तेस्रो स्थान हासिल गरेको बेल्जियम यसपटक सेमिफाइनल पुग्ने लक्ष्य पूरा गर्न असफल रह्यो।
अब स्पेनले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा आफ्नो अर्को प्रतिद्वन्द्वीको सामना गर्नेछ।
बेल्जियमलाई स्तब्ध पार्दै स्पेन १६ वर्षपछि विश्वकपको अन्तिम चारमा
Leave a Comment
Leave a Comment

