कोशी नदीमा बहाव तीव्र, बाढीको जोखिम बढेपछि ब्यारेजका ५२ वटै ढोका खोल्ने तयारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, साउन ३ — लगातारको वर्षाका कारण कोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढ्न थालेपछि सम्भावित बाढी जोखिमलाई मध्यनजर गर्दै कोशी ब्यारेजका ५२ वटै ढोका खोल्ने तयारी गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी नदीको उपल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीको जलसतह सोमबारसम्म सतर्कता तह पार गर्ने सम्भावना रहेको छ। आइतबार साँझसम्म नदीको जलसतह ४.७८ मिटर पुगेको र बहाव अझै बढ्दो क्रममा रहेको विभागले जनाएको छ।
विभागकी बाढीविद् सरस्वती विष्टका अनुसार आज रातिसमेत वर्षा जारी रहने सम्भावना भएकाले सोमबार बिहानसम्म जलसतह ६ मिटरको सतर्कता तह नाघ्न सक्छ। उनले नदीको सतह ७ मिटर पुगेमा खतरा तहमा प्रवेश गर्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई अत्यधिक सतर्क रहन आग्रह गरिन्।
यता, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै कोशी ब्यारेजका सबै ५२ वटा ढोका खोल्ने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए। उनले नदीको अवस्थाको निरन्तर निगरानी भइरहेको र आवश्यक परे उद्धार तथा प्रतिकार्यका सबै संयन्त्र तयारी अवस्थामा राखिएको बताए।
विभागले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान रहेकाले बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने जनाएको छ। नदी किनारका बासिन्दा, यात्रु तथा स्थानीय तहलाई आवश्यक सावधानी अपनाउन र आधिकारिक निकायबाट जारी हुने सूचनालाई निरन्तर पालना गर्न आग्रह गरिएको छ।

Leave a Comment