कलैया, साउन १८ — बाराको पचरौता नगरपालिकामा शिक्षा प्रशासन सञ्चालनको शैलीलाई लिएर विवाद चुलिएको छ। विद्यालयमा करार सेवामा कार्यरत एक लेखापालले नगरपालिकाको शिक्षा शाखाको नेतृत्व गरिरहेको तथा प्रमुख प्रशासकीय अधिकृतको सट्टा लामो समयदेखि निमित्त प्रमुखमार्फत प्रशासन सञ्चालन भइरहेको विषयले स्थानीय तहको प्रशासनिक प्रणालीमाथि प्रश्न उठाएको हो।
स्थानीय स्रोतका अनुसार नगरप्रमुख जलन्धर सिंह जैसवारको कार्यकालमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बेनौली–४ का करार लेखापाल मुकेश कुमार सिंहलाई शिक्षा शाखाको जिम्मेवारी दिइएको छ। औपचारिक रूपमा सह–संयोजकको जिम्मेवारीमा रहे पनि शिक्षा शाखाका अधिकांश प्रशासनिक काम, समन्वय र निर्णय प्रक्रियामा उनी नै सक्रिय रहेको आरोप छ। उनी विद्यालयको लेखापालको जिम्मेवारीसमेत एकैसाथ निर्वाह गरिरहेका छन्।
सरोकारवालाहरूका अनुसार विद्यालयका कर्मचारीलाई स्थानीय तहको शिक्षा प्रशासनमा प्रत्यक्ष भूमिका दिनुले कानुनी व्यवस्था, प्रशासनिक मर्यादा तथा स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न जन्माएको छ। विद्यालय व्यवस्थापन समितिबाट गरिएको कर्मचारीको स्थायी नियुक्तिसमेत कानुनी विवादमा परेको विषयले थप चासो बढाएको छ।
शिक्षा विकास तथा समन्वय इकाइ, बाराले विद्यालय व्यवस्थापन समितिलाई कर्मचारी स्थायी नियुक्ति गर्ने अधिकार कानुनले नदिएको स्पष्ट पारिसकेको भए पनि उक्त निर्णय कार्यान्वयन गरिएको भन्दै अधिकारको दुरुपयोग भएको आरोप लगाइएको छ।
नगरपालिकाको आधिकारिक वेबसाइटमा बसन्तराज जोशी शिक्षा शाखा प्रमुखका रूपमा उल्लेख भए पनि हाल उनी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन्। शिक्षा शाखाको दैनिक कामकाज भने मुकेश कुमार सिंहले सञ्चालन गरिरहेको स्थानीय स्रोतहरूको दाबी छ।
त्यसैगरी, नगरपालिकामा उपसचिव तहको प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रहे पनि नियमित प्रमुख प्रशासकीय अधिकृत लामो समय टिक्न नसकेको बताइन्छ। असहज कार्य वातावरणका कारण कर्मचारीहरू सरुवा वा अवकाश रोज्न बाध्य भएको दाबी गर्दै हालसम्म निमित्त प्रमुखकै नेतृत्वमा प्रशासन सञ्चालन भइरहेको आरोपसमेत लगाइएको छ।
स्थानीय सरोकारवालाहरूले शिक्षा प्रशासनमा भएको भनिएको राजनीतिक हस्तक्षेप, अधिकारको दुरुपयोग, स्वार्थको द्वन्द्व तथा जिम्मेवारी बाँडफाँटबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।
यस विषयमा प्रतिक्रिया लिन नगरप्रमुख जलन्धर सिंह जैसवार, शिक्षा शाखाको जिम्मेवारी सम्हालिरहेका भनिएका मुकेश कुमार सिंह तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत बसन्तराज जोशीसँग सम्पर्क गर्ने प्रयास गरिएको थियो। तर समाचार तयार पार्दासम्म नगरप्रमुख र मुकेश कुमार सिंह सम्पर्कमा आउनुभएन भने बसन्तराज जोशीले प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।
पचरौताको शिक्षा प्रशासन विवादमा : विद्यालयका लेखापालको भूमिका र निमित्त नेतृत्वबारे उठे प्रश्न
Leave a Comment
Leave a Comment

