काठमाडौं । प्रा. डा. ढुण्डीराज पौडेल नेपाल मेडिकल काउन्सिलको नयाँ अध्यक्ष नियुक्त भएका छन्।
नियुक्तिपछि उनले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
वरिष्ठ नाक, कान तथा घाँटी विशेषज्ञ पौडेल हाल नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा सोही विभागका प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत छन्।
चिकित्सा क्षेत्रमा लामो अनुभव बोकेका पौडेलले यसअघि वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल र दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका थिए।
उनले त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस गोल्ड मेडलसहित उत्तीर्ण गरेका हुन्। उनले सोही संस्थानबाट एमबीबीएस अध्ययन पूरा गरेका छन्।
मेडिकल काउन्सिलको कामकारबाहीसँग पनि परिचित पौडेलले यसअघि काउन्सिलको नैतिकता तथा परीक्षा समितिमा कार्यकारी सदस्य र समन्वयकर्ताका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्।

