गरिमा चौधरी हत्याको विरोधमा कलैयामा जेन्जी युथ बाराको प्रदर्शन, दोषीलाई फाँसीको माग

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, भदौ ३ — जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी चार वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा जेन्जी युथ बाराले सदरमुकाम कलैयामा प्रदर्शन गरेको छ।
जेन्जी युथ बाराका अध्यक्ष सौरभ पाण्डेयको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले बालिका हत्यामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूले जघन्य अपराधमा संलग्न दोषीलाई हदैसम्मको सजाय, फाँसीको व्यवस्था गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए।
साउन ३१ गतेदेखि हराइरहेकी गरिमाको शव मंगलबार साँझ जीतपुरसिमरा–१ स्थित एक सुनसान घरबाट फेला परेको थियो। कलैया प्रादेशिक अस्पतालमा गरिएको शव परीक्षणबाट बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुवँरले बताएका छन्।
प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोपमा प्रोग्रेस चौधरी र सुमन थापालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानमा बालिकालाई चकलेट खुवाएर फकाई सुनसान घरमा लगिएको र त्यहीँ बलात्कारपछि हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ।
प्रदर्शनका क्रममा जेन्जी युथ बाराका अध्यक्ष पाण्डेयसहित सहभागीहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न, घटनाको निष्पक्ष अनुसन्धान गर्न र दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिन सरकार तथा प्रहरी प्रशासनसँग माग गरेका छन्।
घटनाको थप अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय वीरगन्ज र प्रदेश प्रहरी कार्यालयको टोलीसमेत परिचालन गरिएको प्रहरी उपरीक्षक कुवँरले बताएका छन्।

Leave a Comment