भोटेकोशी बाढीमा मानवीय क्षति बढ्यो, ९०३ जनाको मृत्यु पुष्टि, ४,२४७ अझै बेपत्ता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौं, भदौ १५ — भोटेकोशी बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा मानवीय क्षतिको संख्या ९०३ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै ४ हजार २४७ जना सम्पर्कविहीन छन्।
गृह मन्त्रालयअन्तर्गतको प्राधिकरणले सोमबार बिहान ९ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित विभिन्न

जिल्लाबाट शव तथा मानव अंग फेला परेको जनाएको हो।
फेला परेका शव तथा मानव अंगमध्ये नवलपरासी पूर्वबाट २०७, चितवनबाट २७२, नवलपरासी पश्चिमबाट १५१, गोरखाबाट ६२, धादिङबाट ५५, तनहुँबाट ३७, रसुवाबाट २४ र नुवाकोटबाट ९५ वटा रहेको विवरणमा उल्लेख छ।
सम्पर्कविहीनमध्ये रसुवाका ८६५ र नुवाकोटका १ हजार ५५८ जना छन्। त्यस्तै, ५९२ विदेशी नागरिक, विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना, मकवानपुरका ६५ जना तथा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३ र भन्सार कार्यालयका १५ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
१० हजारभन्दा बढीको उद्धार

बाढी प्रभावित क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले हवाई उद्धारमार्फत २५२ विदेशी नागरिक र ३ हजार ३४४ नेपालीको उद्धार गरेको छ।
बाढीमा परी २६७ जना घाइते भएका छन्। तीमध्ये १५६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। प्रभावित क्षेत्रमा उपचारका लागि ६ वटा सर्जिकल मेडिकल टिम परिचालन गरिएको छ।
२० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
खोज, उद्धार तथा राहतका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ। यसमध्ये नेपाल प्रहरीका ७ हजार ८९४, नेपाली सेनाका ८ हजार ७२२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना छन्।
राहत सामग्री ढुवानीका लागि हालसम्म ३७ ट्रक र ३५ बोलेरो प्रयोग गरिएको छ। भदौ १३ र १४ गते रसुवा तथा नुवाकोटका प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत २ टन खाद्य सामग्री, ५ वटा पोर्टेबल जेनेरेटर र स्वास्थ्य सामग्री पठाइएको छ।
प्रभावित जिल्लाका लागि करोडौँ राहत
सरकारले रसुवाका लागि १ करोड, नुवाकोटका लागि १ करोड र धादिङका लागि ५० लाख रुपैयाँ राहत रकम विनियोजन गरेको छ। त्यस्तै, प्रभावित १५ स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ बराबरको नगद राहत छुट्याइएको छ।
प्रभावित क्षेत्रमा २५ हजार लिटर डिजेल, २१ हजार लिटर पेट्रोल र १० हजार लिटर हवाई इन्धन मौज्दात रहेको प्राधिकरणले जनाएको छ।
यसैबीच, पहिचान खुल्न नसकेका शव विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएका छन्। ती शवको विवरण नेपाल प्रहरीको आधिकारिक पोर्टल तथा प्राधिकरणको वेबसाइट र आधिकारिक फेसबुक पेजबाट हेर्न सकिने जनाइएको छ।

Leave a Comment