काठमाडौं, भदौ १५ — एसीसी पुरुष प्रिमियर कप २०२६ अन्तर्गत बहराइनविरुद्ध नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गरेको छ। मलेसियाको बांगीस्थित वाईएसडी युकेएम ओभलमा जारी खेलमा
नेपाली बलरले बहराइनलाई ८७ रनमै समेटेका छन्।
टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले बहराइनको ब्याटिङ लाइनअपलाई सुरुदेखि नै दबाबमा राख्यो। बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भयो।
बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए। मोहम्मद वासिमले १३ तथा अली दाउदले १० रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने बलिङतर्फ नायक बने। उनले १० ओभरमा ४ मेडन राख्दै केवल १४ रन खर्चिएर ५ विकेट लिए।
त्यस्तै, ललित राजवंशीले ६.२ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। तीव्र गतिका बलर करण केसीले पनि प्रभावशाली प्रदर्शन गर्दै ८ ओभरमा ४ मेडनसहित १४ रन खर्चेर २ विकेट हात पारे।
हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले विकेट लिन नसके पनि उनीहरूले बहराइनका ब्याटरमाथि निरन्तर दबाब कायम राखे।
अब नेपालले जितका लागि ८८ रनको सामान्य लक्ष्य पछ्याउनेछ। नेपाली टोली केही बेरमा जवाफी ब्याटिङका लागि मैदानमा उत्रनेछ।

