काठमाडौं, २१ भदौ। एसीसी प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित दर्ता गर्दै प्रतियोगिताको
सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार भएको खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गरेसँगै नेपाल एक खेल बाँकी छँदै अन्तिम चारमा पुगेको हो।
साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा गुल्शन झाले अविजित ४४ रनको योगदान दिए भने कप्तान रोहित पौडेल २४ रनमा नटआउट रहे।
नेपालका लागि इशान पान्डेले ४० रन बनाए। देव खनालले ३९, आसिफ शेखले २० तथा अर्जुन कुमालले १५ रन जोडे। साउदीका इस्तियाख अहमद र मुहम्मद आतिफले समान २ विकेट लिए भने मोहम्मद हिशमले १ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा समेटिएको थियो। उसका लागि अब्दुल वाहीदले सर्वाधिक ७७ रन बनाए। मोहम्मद आतिफले ३० र मोहम्मद हिशम शेखले १८ रन जोडे।
नेपालको बलिङमा सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे। उनले १० ओभरमा १९ रन मात्र खर्चेर ३ विकेट लिए। ललित राजवंशीले १० ओभरमा २६ रन दिँदै २ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले ३ तथा शेर मल्लले १ विकेट आफ्नो नाममा लेखाए।
प्रतियोगितामा नेपालले यसअघि बहराइन र मलेसियालाई पराजित गरिसकेको थियो। लगातार तीन खेल जितेपछि नेपाल समूह चरणको अन्तिम खेलअघि नै सेमिफाइनलमा पुगेको हो।
नेपालले समूह चरणको अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ।

